एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दुईभन्दा बढी विषयमा नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।

advertisement

शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरूलाई पनि मौका परीक्षा दिने अवसर बनाएकी हुन् ।

यस पटक लेटर ग्रेडअनुसार एसईईको परीक्षाफल प्रकाशित भएपछि नन ग्रेड विद्यार्थीले ११ कक्षामा अध्ययन गर्न नपाउने व्यवस्था छ । त्यसैले मौका परीक्षामार्फत ग्रेड बढाउने अवसर छ ।

advertisement

मन्त्री श्रेष्ठले ठूलो संख्यामा विद्यार्थी अध्ययनबाट वञ्चित हुने अवस्था आएको भन्दै उनीहरूले पनि मौका परीक्षा दिन पाउने निर्णय गरेकी हुन् ।

बिहीबार सार्वजनिक एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडमा छन् । यो कूल परीक्षामा सहभागी विद्यार्थीको ५२.१४ प्रतिशत हो ।