बझाङ, ३ भदौ । बझाङमा पहिरोले एक घर च्यापिँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चारजना बेपत्ता भएका थिए ।
पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् । उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।
प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो खसेको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।