काठमाडौं, ११ भदौ । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज (बुधबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।
नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनलका लागि हामी तयार छौं । बंगलादेश पनि राम्रो हो । जसले राम्रो ख्ल्छ उसैले जित्छ’, श्रेष्ठले भने, ‘बंगलादेश कठिन टिम हो । फाइनल प्रतिस्पर्धात्मक हुनेछ ।हामी फाइनलमा राम्रो प्रदर्शन गर्नेछौं ।’
बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्मको यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए । ‘यो यात्रामा धेरै उतारचढाव भयो, ‘ हकले भने, ‘नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो । किनकी धेरै खेलाडीले यहीँ खेलेका छन् । हामी फाइनलका लागि तयार छौं । ‘