काठमाडौं, १२ भदौ । साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आज (बुधबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन । बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो ।
बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुमेको थियो । राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो ।
५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए ।
७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्यो । रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा सातदोबाटोमा खेल हेर्न उपस्थित नेपाली दर्शक स्तब्ध बनेका थिए ।
नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो । नेपालका लागि समिर तामाङले गोल गरेका थिए ।
१० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल गर्यो । उसका लागि अहमेद नोभाले डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिएका थिए ।
सन् २०१५ र २०१७ को विजेता नेपालको तेस्रो उपाधि जित्ने अभियान भने सफल भएन । यसअघि तीन पटक उपविजेता बनेको बंगलादेशले भने चौथो प्रयासमा उपाधि जितेको हो । बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।