धनगढी, २९ भदौ । सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ । आज (शनिबार) कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले, “संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ । प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको” बताए ।
प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ ।
चालु आर्थिक वर्ष सुरु भएको २ महिना पुग्नै लाग्दा समेत बजेट ल्याउन नसक्दा प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन् ।