काठमाडौं, ३ असोज । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ । आज (बिहीबार) बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो ।
नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको थियो । तर, उक्त लक्ष्य पछ्याएको ओमानले एक बल बाँकी छदै नौ विकेट गुमाएर २२३ रन बनायो ।
ओमानका ओपमर जतिन्द्र सिंहले सर्वाधिक ४१ रन बनाए । काश्यप प्रजापतीले ३६, कप्तान अकिव इलियासले २९, प्रतीक अथाभालेले ३६, शोइब खानले २६ रन बनाउँदा शकिल अहमेद १७ रन बनाउँदै अविजित रहे ।
नेपालका गुलसनकुमार झाले सर्वाधिक पाँच विकेट लिए । करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि नेपालले गुलसनकै आक्रामक इनिङ्समा निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६० रन बनाए । गुलसनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाउँदा आरिफ शेखले ३५ रनको योगदान दिए । अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।