विराटनगर, ९ असोज । उदयपुरको बेलका नगरपालिका–८ सेतीखेलामा मलामी बोकेको बस दुर्घटना हुँदा एउटै वडाका २७ जना घाइते भएका छन् । मंगलबार दिउँसो बेलका नगरपालिका–५ बाट सप्तकोशी घाटमा मलामी गएर फर्किने क्रममा प्रदेश १–०२–००१ ख ८२५३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट २० मिटर तल पल्टिएको थियो ।
बस दुर्घटना हुँदा घाइते भएका सवै बेलकाको वडा नम्बर ५ का हुन् । घाइतेहरू मध्ये ५६ वर्षीय जयकुमार विक र ५० वर्षीय रुद्रबहादुर कार्कीको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदन भण्डारी राजमार्ग अन्तरगत बेलका–८ सेतीखोलामा भएको दुर्घटनाका घाइतेहरु मध्ये १२ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।
घाइतेहरुलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएका सुरक्षाकर्मीको टोलीले मलामी यात्रुहरूको उद्धार गरेको जनाइएको छ । सामान्य अवस्थाका १५ जना घाइतेहरुको भने बेलका नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक सुनसरीको वराहक्षेत्र नगरपालिका–१ भण्डारीटारका ३५ वर्षीय शम्भु साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।