पुनर्वासमा ईन्स्पेक्टर शाहीमाथि आक्रमण

धनगढी टुडे समाचार डेस्क

पुनर्वास, १० असोज । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । गएराति करिब ९ बजे पुनर्वास नगरपालिका-७, ‘च’ गाउँमा गस्तीमा निस्केको समयमा उनीमाथि आक्रमण भएको हो ।

advertisement

चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पेक्टर शाहीसहित ९ जनाको प्रहरी टोली गस्तीमा निस्किएको थियो ।

पुनर्वास नगरपालिका-७, ‘च’ गाउँमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको ईन्स्पेक्टर शाहीले बताए । उक्त समुहलाई सम्झाएर नियन्त्रण गर्न खोज्दा आफूमाथि २५/३० जनाको समुहले आक्रमण गर्दा आफ्नो कानमा र अन्य चारजना प्रहरीलाई सामान्य चोट लागेको बताए । साथै आक्रमणकारीले भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुर्याएको बताए ।

advertisement

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि टोली घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए । आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास- ६ स्थित टाउन हस्पिटलमा उपचार भएको छ । आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको बताए ।