देशभर निषेधाज्ञा र कर्फ्यू जारी, नेपाली सेनाको सुरक्षा अपिल

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २५ भदौ । देशमा विद्यमान अस्थिर परिस्थितिका कारण नेपाली सेनाले आज ( भाद्र २५ गते बेलुका ५) बजेसम्म देशभर निषेधाज्ञा जारी गरेको छ। सोही क्रममा भोलि, भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लागू रहने छ। सेनाले परिस्थितिको विश्लेषणपछि आवश्यक थप जानकारी उपलब्ध गराउने जनाएको छ।

सैनिक स्रोतका अनुसार, आन्दोलनको आडमा केही समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारजस्ता अपराध गर्न सक्ने सम्भावना रहेकोले यस्तो कदम चालिएको हो।

निषेधाज्ञा र कर्फ्यूको समयमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालनमा हुनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न पनि नागरिकलाई सेनाले अनुरोध गरेको छ।

सेनाले स्पष्ट पारेको छ कि आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमण दण्डनीय अपराध मानिनेछ र अपराधीमाथि कडा कारबाही गरिनेछ।

सैनिक निकायले सबै आम नागरिकलाई अफवाहमा नपर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै आफ्नो दायित्व निभाउन अपिल गरेको छ। सेनाले हरेक परिस्थितिमा जनताको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ।

dhangadhikhabar बाट

प्रतिक्रिया

FaceBook Comment Plugins