धनगढी, २ असोज । जेनजीको विद्रोहबाट सरकार परिवर्तन तथा ठूलो मात्रामा जनधनको क्षति भएपछि पहिलो दिन खुलेको सेयर बजारमा लगानीकर्ता भयभीत देखिएका छन् ।
२३ र २४ भदौको ध्वंसात्मक घटनाका कारण कम्तीमा ७४ जनाको ज्यान गयो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो, सरकार तथा निजी क्षेत्रका धेरै संरचनाहरुमा आजगनी तथा तोडफोड भएपछि सेयर बजार एक साताभन्दा बढी बन्द भएको थियो । त्यसपछि बिहीबार खुलेको नेप्सेमा लगातार तीनपटक गरी ६ प्रतिशतको गिरावट आएपछि दिनभरिलाई बन्द भएको हो ।
कयौं ठूला व्यावसायिक भवन र निजी घर समेत जलेपछि देशमा लगानीककर्ताको सुरक्षाका सवालमा समेत थुप्रै शंकाहरू उब्जिएका छन् । मुलुकको राजनीतिक अनिश्चितताले व्यवसायी र लगानीकर्तामा निराशा बढेको तथ्यलाई बिहीबारको सेयर बजारले छर्लंङ्ग पारिदिएको छ ।
कारोबार खुलेदेखि नै जति मूल्यमा पनि सेयर बेच्ने होडबाजी चल्यो । जसले गर्दा २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो र पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजार एक मिनेटमै कुल ५ प्रतिशत घट्यो र ४० मिनेटका लागि पुन: कारोबार स्थगित भयो ।
१२ : ०३ बजे खुलेको बजार २ मिनेटमै ६ प्रतिशत घट्न पुग्यो । अन्तत: सो दिनको कारोबार स्थगित भयो । पूरा ५ मिनेट पनि कारोबार हुन नसकेको बजार १६० अंक घटेर २५११ मा कायम भयो । बजार ठूलो अंकमा घट्दा कारोबार रकम भने जम्मा ७२ करोड ८७ लाख रुपैयाँमात्रै हुनपुग्यो ।
प्रधानमन्त्री सुशीला कार्कीले व्यावसायिक प्रतिष्ठान तथा सरकारी अड्डामा आगजनी गर्नेलाई कारबाही गर्ने बताइरहे पनि विश्वसनीय आधार बनाउन सकेकी छैनन् ।
बजारमा लगानीकर्ता तथा कारोबारीको मनोबल घट्नुको प्रमुख कारण २३ र २४ भदौको विद्रोहपछि निम्तिएको संकट र व्यवसायीको मनोबल घट्नु रहेको जानकारहरू बताउँछन् ।
‘हाम्रा व्यावसायिक भवन मात्रै भत्किएनन्, बसिरहेका घर समेत जलाइए यसले हाम्रो सुरक्षाका सवालमा समेत प्रश्नचिह्न खडा गरिरहेको छ,’ एक प्रतिष्ठित कम्पनीका संस्थापकले भने, ‘त्यही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले अब आगजनी गर्नेलाई कारबाही गर्ला भन्ने विश्वास पनि छैन, अर्कोतर्फ भविष्यमा यस्ता डरलाग्दा घटना नदोहोरिएलान् भन्न पनि सकिएन ।’
प्रधानमन्त्री सुशीला कार्कीले व्यावसायिक प्रतिष्ठान तथा सरकारी अड्डामा आगजनी गर्नेलाई कारबाही गर्ने बताइरहे पनि विश्वसनीय आधार बनाउन सकेकी छैनन् ।
गठित अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने घोषणा गरेको छ, तर सुनिश्चितता छैन । कतिपय व्यवसायी यतिबेला लगानी नै नगर्ने मनस्थितिमा छन् ।
‘अब भत्किएका संरचना नै कसरी बनाउने, एउटा गति लिइरहेको बिजनेसलाई अब शून्यबाट कसरी अघि बढाउने सोच्न सकिएको छैन,’ उनले भने, ‘म मात्रै होइन, मजस्तै अन्य व्यवसायी पनि यसकै तनावमा छन् ।’
उनीजस्तै थुप्रै व्यवसायी तथा लगानीकर्ता यतिबेला ध्वस्त भएका आफ्ना संरचना पुन: खडा गर्ने वा व्यवसाय छोड्नेमा भन्नेमा अनिर्णित छन् ।
भएको सेयर बेचेर दशैं खर्च जुटाउने अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् । बिहीबार सेयर बेच्न पाएकाले मात्रै दशैंअघि सो रकम आफ्नो खातामा पाउने छन् ।
नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार व्यवसायी र लगानीकर्तामा यतिबेला मनोबल कमजोर देखिएकै कारण बजारमा उच्च गिरावट आएको बताउँछन् ।
‘२४ गतेको घटनाले मुलुकलाई नै १० वर्ष पछाडि पारेको छ, व्यावसायिक प्रतिष्ठानलाई ठूलो आघात पुगेको छ,’ उनले भने, ‘तर पनि हामी उठ्नुपर्ने छ, मनोबल बढाउनुपर्ने छ ।’ अर्कोतर्फ दशैं खर्च जुटाउनका लागि पनि कतिपयलाई सेयर बेच्नुपर्ने अवस्था निम्तिएको उनले बताए ।
‘दशैंअघि पैसा पाउनका लागि पनि ३ दिनअघि सेयर बेच्नुपर्छ, त्यसले पनि आज बजारलाई केही असर पार्यो,’ उनले भने, ‘तर मुख्यत: २४ गतेको घटनाले आघात पुर्याउनु हो ।’
बिहीबार बजारमा खरिद पक्ष धेरै नै कमजोर देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । बजारमा यति ठूलो गिरावट आउनुको प्रमुख कारण नै २४ गतेको विध्वंसात्मक घटना रहेको उनले बताए ।
यो पनि पढ्नुहोस
५ मिनेटमै १० प्रतिशत मूल्य घटेका यी हुन् १६ कम्पनी
‘ठूला व्यावसायिक भवन, निवास भएका आगजनीले मनोभावना नकारात्मक बनेको छ’ उनले भने । व्यवसायी र लगानीकर्ताको मनोभावना सकारात्मक सकारात्मक बनाउन राज्यले तत्कालै केही कदम चाल्नैपर्ने उनको भनाइ छ ।
तर सरकारले अब कस्ता नीति लिन्छ भन्नेमा अनिश्चितता छ । २३ र २४ गते भएको ध्वंसात्मक घटनाको छानबिन र कारबाही प्रक्रिया समेत प्रभावकारी रूपमा अघि बढेको छैन । यसले पनि लगानीकर्तालाई हतोत्साही बनाइरहेको छ ।
‘व्यावसायिक प्रतिष्ठानलाई वित्तीय सहजता वा अन्य मनोबल बढ्नेगरी नीतिहरू अवलम्बन गरिहाल्नुपर्छ,’ रानाभाटले भने, ‘राष्ट्र बैंकले पनि तत्काल सहुलियतका विभिन्न कार्यक्रम ल्याउनुपर्छ ।’
मुलुकमा हुने राजनीतिक संक्रमणकालीन अवस्थाले सुरुका दिन बजार घटेर त्रसित नै पार्ने गरेको इतिहास विगतमा पनि देखिन्छ । तर अबका दिनमा बजार केही सम्हालिन सक्ने उनको भनाइ छ ।
पछिल्लो पटकको सर्किट लाग्नुअघि कारोबार सम्हालिन खोजेपनि सकेन । दोस्रो सर्किट ब्रेकपछि सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ह्वात्तै घटेपछि नेप्सेको गिरावट ६ प्रतिशत पुग्यो र स्थगित हुनेगरी सर्किट ब्रेक लाग्यो ।
‘बजारको घटाइ यही दरमा पक्कै जाँदैन, तर मनोभावना बढ्नेगरी राज्यले केही कदम लियो भने सकारात्मक प्रभाव पर्न सक्छ’ उनले भने । आजकै कारोबारमा क्रमिक रुपमा खरिदकर्ता पनि आएकाले धेरै त्रसित हुन नहुने उनी सुझाउँछन् ।
पछिल्लो पटकको सर्किट लाग्नुअघि कारोबार सम्हालिन खोजेपनि सकेन । दोस्रो सर्किट ब्रेकपछि सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ह्वात्तै घटेपछि नेप्सेको गिरावट ६ प्रतिशत पुग्यो र स्थगित हुनेगरी सर्किट ब्रेक लाग्यो ।
आज विशाल बजारको मूल्य घटेपछि व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी भएकाले व्यापार समूह भनेकै विशाल बजार बनेको छ । विशाल बजारको मूल्य जति घटबढ हुन्छ समग्र समूहको घटबढ त्यति नै हुने गरेको छ ।
दोस्रो सर्किट ब्रेकपछि केही समय बजार सम्हालिँदा कारोबार रकम समेत बढ्यो । दोस्रो सर्किट ब्रेकअघि २८ करोड ७५ लाखको मात्रै कारोबार भएकोमा तेस्रो सर्किट लाग्दासम्म भने कारोबार साढे २ गुणा बढ्यो र कुल ७२ करोड ८७ लाख रुपैयाँको भयो । खरिद पक्ष पनि सक्रिय भएकाले आइतबार कारोबार अवधिसँगै रकम पनि बढ्ने अनुमान छ ।
‘आज नै कारोबारका क्रममा दोस्रो सर्किट ब्रेकपछि खरिदकर्ता आएकै हुन्, सम्हालिन खोजेको पनि हो,’ रानाभाटले भने, ‘त्यसकारण अब खुल्ने बजारमा सहज रुपमा पूरै समय कारोबार होला ।’
बढी प्रभावित केही कम्पनीमा अझै पनि खरिदकर्ता नदेखिएको उनले स्पष्ट पारे । मुख्यत: दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमामा यस्तो असर परेको छ ।
‘बढी प्रभावित भएका केही कम्पनीमा खरिद पक्ष केही दिन कमजोर रहन सक्छ, त्यसले मूल्य घट्ने जोखिम उच्च हुन्छ,’ रानाभाटले भने, ‘तर अधिकांश कम्पनीमा खरिदकर्ता सक्रिय भइसकेको देखिन्छ ।’
उनले भनेजस्तै कतिपय कम्पनीको मूल्य दोस्रो सर्किटका बेलाभन्दा अन्तिम सर्किट लागेपछि बढेको अवस्था पनि छ ।
बिहीबार बजारका सबै सेक्टर नै उच्च दरले घटे । जब बजार नै घट्छ, कुनै पनि सेक्टर वा कम्पनी अछुतो नरहने गरेका छन् ।
‘जब बजारमा भय सिर्जना हुन्छ, त्यसपछि जतिसुकै राम्रा कम्पनी वा राम्रो सूचनाले पनि असर पार्दैन,’ रानाभाटले भने, ‘ठीक उल्टो जब बजारमा उत्साह भरिन्छ, त्यसपछि कुनै कम्पनी वा सेक्टरका नराम्रा सूचना आएमा त्यसको प्रभाव पनि रहँदैन ।’ बिहीबारको बजारले यही संकेतलाई प्रष्ट पारेको जानकार बताउँछन् ।
व्यापार समूह सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । लगानी, अन्य र होटल तथा पर्यटन समूह ७–७ प्रतिशतभन्दा धेरै घटे ।
Online Khabarबाट
प्रतिक्रिया
FaceBook Comment Plugins