धनगढी, ९ कार्तिक । छठ पूजा सेवा समिति धनगढीले हरेक वर्ष मनाउँदै छठपूजाको तयारी थालेको छ। यस वर्ष पनि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना छठीघाटमा धुमधामसँग पर्व मनाउने तयारीमा समिति जुटेको हो।
विगत लामो वर्षदेखि उक्त घाटमा छठपूजा कार्यक्रमको आयोजना गर्दै आएको समितिले यस वर्ष पनि तयारी गरिरहेको हो । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने छठ पर्वमा पूजा गर्न आउने भक्तालुका लागि मोहना घाटमा २४० पूजाकक्ष निर्माण भइसकेका छन्। ती निर्माण गरिएका पूजाकक्ष टेन्ट, बत्ती, झिलमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाउने काम भइरहेको छठ पूजा सेवा समितिका उपाध्यक्ष रोशनकुमार कर्णले जानकारी दिए।
उनका अनुसार अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ । धनगढी बजारका मुख्य स्थानहरूमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन्। कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी पेन्टिङ गर्ने, सजाउने काम गरिरहेका छन्।
कार्यक्रमका लागि मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ। जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उपाध्यक्ष कर्णले बताए। करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ।
पर्वकै अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, स्थानीय भजनकीर्तन, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत प्रस्तुति रहने अयोजक समितिले जनाएको छ। भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमको प्रस्तुतिका लागि तयारी भइरहेको जनाउँदै उपाध्यक्ष कर्णले छठ पूजाका लागि करिब १२ देखि १५ लाख खर्च हुने अनुमान गरिएको बताए।
विगतका वर्षहरूमा यो पर्वतर्फ स्थानीयको खासै ध्यान नगएको भए पनि पछिल्ला केही वर्षयता बालबालिकादेखि वृद्धवृद्धासम्म पर्व मनाउने स्थलमा पुग्ने गरेका छन्। परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट मुक्ति, सन्तान प्राप्तिलगायत मनोकामना पूरा हुने जनविश्वास रहिआएको उपाध्यक्ष कर्णले बताए। छठ पर्व आउनुभन्दा एक महिनाअघिदेखि नै मोहना नदीतटमा सरसफाइ गरी भव्य रूपमा पूजालाई सफल पार्ने तयारीमा सेवा समिति जुटेको छ।
Dineshkhabar

प्रतिक्रिया
FaceBook Comment Plugins