धनगढी, १२ कार्तिक । कैलाली बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत जानकीकुमारी खड्काले बिहेको धम्की सहन नसकेर आत्महत्या गरेको तथ्य सार्वजनिक भएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका-१ घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो।
शिक्षिका खड्कालाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत विद्यालय निरीक्षक गणेशबहादुर रावल रहेको खड्काले मृत्युपत्रमा उल्लेख गरेकी छन्। विद्यालय निरीक्षक रावलले विवाहका लागि दबाब दिएको पत्रमा उल्लेख छ। विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए।
रावलको निरन्तरको धम्कीपछि खड्काले १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन्। जोहेरीपश्चात् प्रहरीले ११ कात्तिकमा रावललाई पक्राउ गरिसकेको छ।
‘हामीले प्रतिवादी रावललाई आज अदालतमा पेस गरेका छौँ। जाहेरी दिनासाथ पक्राउ परेका हुन्। अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान हुनेछ,’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र जोशीले दिनेशखरसँग भने। पक्राउ परेका रावल डिभोर्सी पुरूष भएको प्रहरीले बताएको छ। उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन्।
रावलले फोन गर्दै मृतक खड्का र उनको परिवारलाई बिहेका लागि दाबाब दिने गरेको मृत्यु पत्रमा उल्लेख गरिएको छ। निरन्तरको दबाब झेल्न नसकेर आफूले मृत्युको बाटो रोज्नु परेको खड्काले पत्रमा लेखेकी छन्।
पढ्नमा मेधावी थिइन् खड्का
कक्षा एकदेखि नै विद्यालय प्रथम हुँदै आएकी खड्काले दुई वर्ष अगाडि मात्रै निम्न माद्यमिक तहको गणित शिक्षकमा सिफारिस भएकी थिइन्। पढ्नमा जेहेन्दार उनले कैलाली बहुमुखी क्याम्पसबाट गणित विषयमा स्नातक गरेर स्नातकोत्तर तहको चौथो सेमेस्टरमा थिइन्।
नेपाल सरकारको अफिसरमा नाम निकाल्ने सपना अधुरै छोडेर मृत्युको बाटो रोज्नु परेको खड्काले मृत्यु अगाडि लेखेको पत्रमा उल्लेख गरेकी छन्। उनले कहिल्यै भेट नभएको, आफूले नदेखेको र बाबु भएको मान्छेले बिहेका लागि दिएको दबाब झेल्न नसकेर आत्महत्या गर्नुपरेको पत्रमा उल्लेख गरेकी छन्।
खड्कको अकल्पनीय मृत्युले एक असल तथा जेहेन्दार साथी गुमाएको कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति यमराज जोशीले उल्लेख गरेका छन्। उनले सबैलाई आँट दिने खड्काले आफैं मृत्युको बाटो रोज्न पुगेको खबरले मर्माहत भएको बताएका छन्।
यस्तै, कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर लोकबहादुर बिष्टले क्याम्पसले एक होनाहार विद्यार्थी गुमाएको बताएका छन्। अध्ययनमा मेधावी खड्काको मृत्युले सिङ्गो क्याम्पस परिवार शोकमा डुबेको क्याम्पस प्रमुख बिष्टले उल्लेख गरेका छन्। खड्काको शोकमा कैलाली बहुमुखी क्याम्पसले बुधवार शोक बिदासमेत दिएको थियो।


Dineshkhabar

प्रतिक्रिया
FaceBook Comment Plugins