धनगढीमा ‘प्रेमी–प्रेमिका’सँग भेटियो पेस्तोल र २३ ग्राम ड्रग्स

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २ फागुन । धनगढीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१३ मोहनपुर चोकस्थित अत्तरिया राजमार्ग खण्डमा चेकजाँच गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका २५ वर्षीय शम्भु भट्टको साथबाट शुद्ध तौल २३ ग्राम ३४० मिलिग्राम खैरोहिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै थप अनुसन्धानका क्रममा धनगढी–४ मा हरिप्रसाद जैशीको घरमा डेरा गरी बस्दै आएका भट्ट र बैतडीको सिंगास गाउँपालिका–१ की २३ वर्षीया कविता भट्टको कोठा खानतलासी गर्दा थप १० ग्राम ३६० मिलिग्राम लागूऔषध फेला परेको थियो। स्रोतका अनुसार पक्राउ पर्ने दुबैजना प्रेमी-प्रेमीका हुन्। उनीहरुसँगै बस्ने गर्दथे।

यससँगै कुल ३३ ग्राम ७०० मिलिग्राम खैरोहिरोइन, एक थान एयरगन (पेस्तोल), नगद ६५ हजार रुपैयाँ तथा दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
farakpress

प्रतिक्रिया

FaceBook Comment Plugins