प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा सुदुर पश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि १३४ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ रंगशाला आज भएको खेलमा सुदूरपश्चिम प्रदेशका तीन खेलाडीले अर्धशतक बनाउँदा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७७ रनको बलियो योगफल बनाएको थियो।
सुदुर पश्चिमका लागि ओपनर खड्क बोहराले सर्वाधिक ८० रन बनाए । उनले ६ चौका प्रहार गरेका थिए। यस्तै, अर्का ओपनर टेक रावतले ५९ रन जोडे। सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खड्क र टेकले २८ ओभरमा १३८ रनको शतकीय साझेदारी गरेका थिए।
यसैगरी, सुदूरपश्चिम प्रदेशका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक पारी खेल्दै किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए। राजु रिजालले १९ र नरेश भट्टले १५ रनको योगदान गरे। कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रेको कर्णाली प्रदेश ३७.२ ओभरमा अलआउट हुँदै १४३ रन मात्रै बनाउन सक्यो। उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए। यस्तै, विकाश आगरीले २ तथा नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए।
कर्णाली प्रदेशका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
‘प्लेयर अफ द म्याच’ सुदूरपश्चिम प्रदेशका खडक बोहरा घोषित भए।