धनगढीमा फोहरबाट मल र ग्यास उत्पादन सुरु

धनगढी टुडे समाचार डेस्क

कैलालीको धनगढीमा फोहोरबाट मल र ग्यास उत्पादन गर्ने काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रबाट सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न सुरु गरिएको हो।

advertisement

उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले धनगढी उपमहानगरपालिका–२ मा स्थापना गरेको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न शुरु गरेको हो। प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन गर्न थालिएको छ।

प्रशोधन केन्द्रबाट उपमहानगर क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन गर्न सुरु गरिएको छ। प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भए दैनिक एक सय सिलिण्डर ग्यास, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुनेछ।

advertisement

पर्यावरणीय प्रदूषण लगभग शून्य हुनुका साथै कार्बन उत्सर्जनको समस्यालाई समेत घटाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। पाइपलाइनको प्रयोग गरेर दैनिक सातदेखि ८ सय घरपरिवारमा सो ग्यासबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्यास भरेर औद्योगिक प्रयोगमा ल्याउन सकिने केन्द्रले जनाएको छ। खाना पकाउन प्रयोग भइरहेको एलपी ग्यासको मूल्यको तुलनामा सो ग्यासको मूल्य सुपथ रहने दाबी छ

प्रशोधन केन्द्रले सो ग्यासलाई पेट्रोलबाट चल्ने टेम्पुलगायतका गाडीमा प्रयोग गर्न मिल्ने कम्प्रेसन नेचुरल ग्यास बनाउन आवश्यक तयारी समेत गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देवतालिम केन्द्रको संयुक्त पहलमा फोहरको व्यवस्थापन भइरहेको हो। उपहानगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गासमेत उपलब्ध गराएको छ। देव तालिम केन्द्रले २० वर्षका लागि फोहरको व्यवस्थापन गर्न ठेक्का पाएको छ।

बायोग्यास प्लान्टलाई दैनिक १२ देखि १५ टन फोहर उपलब्ध गराउने गरिएको उपमहानगरपालिका वातावरण शाखा प्रमुख अशोक अवस्थीले बताए।