– लक्ष्मीप्रसाद पौडेल
–‘”के भो, मेयर साप ? अनुहार रातो कालो देख्छु । निधारभरि चिटचिट पसिना पनि आएको छ।”
— “के हुनु नि, पश्चिमको एउटा मेयरले शहर हरियाली बनायो रे ।
वर्षौंदेखि साँघुरिएको, अचेटिएको सडक चौडा बनायो पो भन्छन् ।”
— “यो त राम्रो कुरा हो ! फेरि —-? ”
–“झिलिमिली छ रे अहिले , यस्तै हिसावले अगाडि बढ्ने हो भने , बाँकी दुई वर्षमा उधुम हुन्छ ! ”
— “अनि —–,?”
–“अनि के —? राजधानीको मेयरले सरकारलाई पछारिसक्यो ! जताततै उसैको चर्चा छ । उतिखेर र अहिले आकाश पाताल फरक छ, किश्ने कान्छो भन्दै’थ्यो ! ”
— “यो झन् राम्रो कुरो हो । तर तपाईं मेरो प्रसङ्गको विषय मोड्दै हुनुहुन्छ । मैले तपाईंको स्वास्थ्य अवस्था के भो भनेर सोधेको ?”
— “देख्नुहुन्न , चिटचिट पसिना आएको ? आफैं भन्दै हुनुहुन्छ अनुहार रातो कालो भएको छ भनेर ? ”
–“त्यही त सोध्दैछु ! लौ ज्वरो पनि आएको रहेछ !” निधार छाम्छु
— “अर्को पूर्वतिरको पनि हुने नहुने चर्चामा छ ।”
–” ए बाबा, तपाईंलाई चाहिँ के भयो, त्यो भन्नुस् न , यतिका बेर देखि सोधेको सोध्यै छु ?”
–” रिस उठ्दैन त ? यहाँ आफू पूरा बेखबर छु । उद्घाटन गर्ने बाहेक अर्को कुनै कामै भएन ? ”
–“ए ! त्यसो पो, उनीहरूको काम देखेर तपाईंले ज्वरो काढ्नुभएको ? जलेर रातो कालो हुनुभएको हो ! लौ जलिराख्नुस्, म त हिंडे पश्चिमको खबर छाप्न !”
——————
२०८०/०५/३०
धनगढी,कैलाली ।