धनगढी, ९ भदौ । फूलबारी एकेडेमीले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरा र कृष्णाष्टमी पर्व मनाएको छ । विद्यालयले आज एक कार्यक्रम गर्दै गौरा र कृष्णाष्टमी पर्व मनाएको हो ।
कार्यक्रममा सुदुरपश्चिमका चर्चित देउडा गायक चेतराज फुलाराको उपस्थिति रहेको थियो । देउडा गायक फुलाराले गौरा पर्वको बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै “गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा गहत, गुराउस, केराउ, मास, गंहु मिसाएर बिरुडा भिजाउने, पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नाउलामा लगेर बिरुडा धुने चलन रहेको” बताए । साथै “यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन । महिलाहरूले पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन । साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने धार्मिक मान्यता रहेको” समेत बताए ।
देउडा गायक फुलाराले विद्यार्थीहरुलाई देउडा गीत गाउन सिकाउनुका साथै केहीबेर देउडा समेत खेलेका थिए ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा देउडा विशेष कार्यक्रमको समापन पछी दोस्रो चरणमा कृष्णाष्टमी पर्व विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयका स-साना नानीबाबुहरु राधा कृष्णको पोशाकमा सजिएर नृत्य प्रदर्शन गरेका थिए ।
“विद्यार्थीहरुलाई स्थानीय पर्वको बारेमा जानकार गराई संस्कृतिको जगेर्ना गर्न उक्त कार्यक्रम गरिएको” विद्यालयका प्रिन्सिपल राजेन्द्र प्रसाद चापागाईंले बताए ।