धनगढी, २४ असोज । नेपालमा बालबालिकालाई वर्षमा सरदर ८–१० पटक रुघाखोकी लाग्छ । औषधि पसलमा चिकित्सकको पुर्जाबिनै सजिलै औषधि पाइने भएकाले अभिभावकहरू पनि यही बोटो रोज्छन् ।
तर कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.रामहरि चापागाईँ भने चिकित्सकको प्रेकिप्सनबिना कुनै पनि औषधि खरिद गर्न नहुने बताउँछन् ।
बालबालिकालाई दुई–तीन दिनसम्म रुघाखोकी लाग्दा पनि हचुवाको भरमा कफ सिरप प्रयोग नगर्न उनको आग्रह छ । डा. चापागाईँका अनुसार नेपालमा रुघाखोकी लाग्ने बित्तिकै औषधि पसलमा गएर कफ सिरप किनेर खुवाउने चलन अत्यधिक छ जुन बालबालिकाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ ।
‘कफ सिरप बालबालिकालाई सकेसम्म प्रयोग नगर्ने, प्रयोग गर्नैपर्यो भने पनि आवश्यकता अनुसार मात्रै गर्ने भन्नुको प्रमुख कारण छ,’ डा. चापागाईँ भन्छन्, ‘पहिलो र प्रमुख कारण त बालबालिकालाई लाग्ने रुघाखोकी प्रायः जीवाणु भाइरसको सङ्क्रमणले हुन्छ । तर कफ सिरप भाइरसको औषधि होइन ।’
भारतमा उत्पादन गरिएका केही कफ सिरपमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल नामक विषालु पदार्थ फेला परेको र यसको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको पाइएको छ । नेपालमा ‘कोल्ड्रिफ कफ सिरप’ दर्ता नभएको जानकारी दिँदै नेपाल औषधि व्यवस्था विभागले यस्ता विषाक्त पदार्थ मिसावट भएका औषधिबारे सेवनमा सचेत हुन निर्देशन दिएको छ ।
यद्यपि भारतमा मृत्युको कारण बनेको ‘कोल्ड्रिफ कफ सिरप’ नेपालमा दर्ता नभएकाले उपलब्ध छैन भनि एपनि खुला सिमानाका कारण अवैध रूपमा खरिद–बिक्री भइरहेकाले सचेत रहन चिकित्सकले सुझाएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी पनि नेपालमा उपलब्ध कफ सिरपहरू पनि यत्तिकै खुवाउनु जोखिमपूर्ण हुने बताउँछिन् ।
उनका अनुसार कफ सिरपहरू धेरै प्रकारका हुन्छन् । जस्तो: दमजस्तो समस्याका लागि, सुक्खा खोकीका लागि वा कफ निकाल्ने खालका । छाती र अवस्था जाँच नगरी यस्ता कफ सिरप दिँदा गलत पर्न सक्ने भन्दै सचेत हुन उनले पनि सुझाइन् ।
‘विशेषगरी दुई वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि कफ सिरप खुवाउनु हुँदैन, यसले खासै फाइदा गदैन । अन्य उमेरका बालबालिकाको हकमा पनि बिनापरामर्श कफ सिरप दिँदा समस्या हुन्छ,’ उनले भनिन् ।
रोगको कारण एकातिर उपचार अर्कैतिर
बालरोग विशेषज्ञ डा. चापागाईँका अनुसार रुघाखोकी भाइरसका कारण लाग्ने हुँदा उपचार भने अर्कै तरिकाले हुँदा समस्या सिर्जना हुन्छ । उनले पनि धेरैजसो रुघाखोकीको अवस्थामा कफ सिरपको आवश्यकता नपर्ने बताए । कफ सिरपले विभिन्न साइड इफेक्टहरू देखिन सक्ने पनि उनले बताए । यसमा भएका केही तत्त्वहरूले बच्चालाई सुस्त गराउने, निद्रा लगाउने जस्ता प्रभाव पार्न सक्छन् । विशेषगरी एन्टी–एलर्जी तत्त्वहरूका कारण यस्तो हुने उनको भनाइ छ ।
नाक बन्द भएको वा खोकी लागेको बेला दिइने डिकन्जेस्टेन्टयुक्त कफ सिरपहरूले रक्तनलीहरूलाई खुम्च्याउने हुँदा थप जोखिम बढ्ने पनि उनले बताए । साथै यसको डोज मिलाउन कठिनाइ हुँदा पनि समस्या देखिने डा. चापागाईंले बताए ।
कफ सिरपमा हानिकारक वा विषादी तत्त्वहरू पनि हुने भएकाले बच्चालाई गम्भीर असर पुर्याउने हुँदा भरसक प्रयोग नगर्नु बुद्धिमानी हुने उनको सुझाव छ । बरु कफ सिरपको सट्टा बच्चालाई पानीको बाफ दिनु उपयुक्त हुने पनि उनले बताए । बच्चालाई रुघाखोकी वा ज्वरो आए चिकित्सकको सल्लाहमा सिटामोल दिन उनले सुझाए ।
यस्तै अर्की बालरोग विशेषज्ञ डा.सुवेदी पनि बालबालिकालाई सामान्य रुघाखोकी लाग्दा बढी पानी खुवाएर, नाक सफा गरेर वा नुनपानी हालेर सफा गर्नु ठीक हुने बताउँछिन् । एक–दुई दिनमा पनि अवस्थामा सुधार नआए मात्र चिकित्सककहाँ जचाएर, छाती र घाँटीको अवस्था हेरेर औषधि सेवन गराउन उपयुक्त हुने उनको सुझाव छ ।
डा. चापागाईँ भने मह मिसाइएको पानी वा अन्य पदार्थले पनि बालबालिकाको घाँटीलाई सहज गराउन सक्ने बताउँछन् । यद्यपि एक वर्षभन्दा मुनिका बालबालिकालाई भने मह खुवाउन ठीक नहुने उनको भनाइ छ ।
कलिला बच्चालाई किन कफ सिरफ खुवाउनै हुँदैन ?
उमेर र जोखिम: दुई वर्षभन्दा मुनिका बालबालिकालाई कफ सिरप प्रयोग गर्न बालरोग विशेषज्ञहरूले विशेष जोड दिन्छन् । यस उमेर समूहमा ओभरडोज र साइड इफेक्टको सम्भावना बढी हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता: सानो उमेरमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले भाइरल संक्रमणको सम्भावना पनि बढी हुन्छ । कफ सिरपले यस्ता संक्रमणमा खासै फाइदा नगर्न सक्छ ।
नचाहिने औषधि र साइड इफेक्टः अभिभावकले आफैं औषधि किनेर खुवाउँदा बच्चालाई नचाहिने औषधि दिन सकिन्छ, जसले साइड इफेक्ट गराउन सक्छ । ओभरडोजको जोखिम पनि रहन्छ ।
विषादी तत्त्वको सम्भावनाः कतिपय कफ सिरपमा विषादी तत्त्वहरू (जस्तैः इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल) हुन सक्छन्, जुन बच्चाको स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् । भारतमा यस्तै घटनाहरूले बालबालिकाको मृत्यु भएको सार्वजनिक भएको छ ।
गुणस्तर नियन्त्रणको आवश्यकताः औषधि उत्पादक कम्पनीले कफ सिरपमा विषादी तत्त्व नभएको, गुणस्तरयुक्त सामग्री प्रयोग गरेको, सही मात्रामा तत्त्वहरू मिसाएको र उत्पादनको म्याद जाँच गरेको सुनिश्चित गर्नुपर्छ । औषधि व्यवस्था विभागले बजारमा आउने सबै कफ सिरपको गुणस्तर र सुरक्षाको जाँच गरी अनुमोदन गर्नुपर्छ ।
चिकित्सकको सल्लाह आवश्यकः अभिभावकहरूले आफैं औषधि पसलबाट कफ सिरप किनेर बच्चालाई खुवाउनु हुँदैन । रुघाखोकी लाग्दा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र औषधि प्रयोग गर्नुपर्छ ।
औषधि लेख्दा ध्यान दिनुपर्ने कुराहरूः चिकित्सकले औषधि लेख्ने बेला बच्चाको उमेर, तौल र स्वास्थ्य अवस्था हेरी आवश्यकता अनुसार मात्र औषधि लेख्नुपर्छ । कफ सिरपमा भएका तत्त्वहरू के–के छन् र त्यसका सम्भावित असरबारे विचार गर्नुपर्छ । सकेसम्म कम तत्त्व भएका र आवश्यक मात्र तत्त्व भएका सिरप सिफारिस गर्नुपर्छ ।
कच्चा पदार्थको गुणस्तरः विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार, औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू (प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसरिन/ग्लिसेरिन) मान्यताप्राप्त बिक्रेताबाट मात्र खरिद गर्न उत्पादकहरूलाई निर्देशन दिइएको छ ।
रातोपाटी
प्रतिक्रिया
FaceBook Comment Plugins