विपद्बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु रु २९ करोड भौतिक क्षति

सुमन श्रेष्ठ

विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ४२ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजना बमोजिम आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९÷८० सम्म पहिरो, बाढी, आगलागी, चट्याङलगायत विपद्का घटनाबाट यहाँका ४२ जनाले ज्यान गुमाएका हुन् ।

advertisement

आव ०७५÷७६ मा तीन, ०७६÷७७ मा १२, ०७७÷७८ मा १०, ०७८÷७९ मा दुई र आव २०७९÷८० मा १५ जनाले ज्यान गुमाएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले जानकारी दिनुभयो । सोही अवधिमा ६३ जना घाइते भएका थिए ।

जिल्लामा बाढीपहिरो, आगलागी र चट्याङको जोखिममा रहेकाले बर्सेनि विपद्का घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । सो अवधिमा विपद्का घटनाबाट रु २९ करोड ५७ लाख ६८ हजार एक सय भौतिक क्षति भएको छ । घर, गोठ, विद्यालय भवनलगायत संरचना नष्ट हुँदा उक्त क्षति भएको हो ।

advertisement

विपद् व्यवस्थापन समितिका अनुसार आव ०७५÷७६ मा २४ घर, सात गोठ, अन्य चार संरचनामा क्षति पुग्दा रु ९९ लाख क्षति भएको छ । आव ०७६÷७७ मा एक सय ३४ घर, ३८ गोठ, २० अन्य र एक विद्यालयमा क्षति पुग्दा रु एक करोड ७४ लाख पाँच हजार सात सयको क्षति भएको थियो । आव ०७७÷७८ मा एक सय ५१ घर, २९ गोठ, १९ अन्य, दुई सरकारी कार्यालय र तीन विद्यालयमा क्षति पुग्दा रु चार करोड १६ लाख १० हजार बराबरको क्षति भएको थियो । आव ०७८÷७९ मा ३९ घर, आठ गोठ, अन्य ३२ संरचनामा क्षति पुग्दा रु १८ करोड ९० लाख ७५ हजारको क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

आव ०७९÷८० मा ६० घर, १४ गोठ, अन्य २२ संरचनामा क्षति पुग्दा रु रु तीन करोड ७७ लाख ७७ हजार चार सयबराबरको क्षति भएको थियो । समितिले विभिन्न प्रकोपहरुका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अति आवश्यक भएकाले प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयमा ल्याएको छ । विपद्बाट समुदायको आर्थिक, सामाजिक तथा मानवीय जीवनमा पु¥याउन सक्ने क्षति न्यूनीकरण गरी विपद्पछि छिटोभन्दा छिटो पूर्ववत् अवस्थामा ल्याउन प्रतिकार्य योजना प्रभावकारी हुने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

जिल्लाका दसवटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दस पालिकाका अधिकांश वडाहरु बाढीपहिराको जोखिममा रहेका छन् । पहिराको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेको छ । बाढीको प्रकोपका आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिकाका उच्च जोखिममा छ ।

कार्यालयका अनुसार व्यास नगरपालिकाको –१, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिराको उच्च जोखिममा छ । भानु नगरपालिकाको –४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाको–३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाको–९ र १०, देवघाट गाउँपालिकाको–१, २, ३ र ४, बन्दीपुर गाउँपालिकाको–१, २, ४ र ५ का दस बस्ती, घिरिङ गाउँपालिकाको –२, ३, ४ र ५ का दस बस्ती, ऋषिङ गाउँपालिकाको–१, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाको–४, ५, ६ र म्याग्दे गाउँपालिकाको–१ देखि ७ सम्मका बस्ती पहिराको जोखिममा छ ।

यसैगरी व्यास नगरपालिकाको–१, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिकाको–१, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिका–१ को दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाको–४ र ८ को बस्ती, देवघाट गाउँपालिकाको–१ देखि ५ सम्मकानदी तटीय क्षेत्र बाढीको जोखिममा छ ।

बन्दीपुर गाउँपालिका–६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिका–१ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिका–१, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिका–२, ४, ५, ६ का बस्तीहरु, म्याग्दे गाउँपालिका–३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छ ।

प्रजिअ रिजालले भन्नुभयो, “मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटनाहरु र यसदेखि सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायत कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छाँै ।” यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहनेछन् ।