काठमाडौं : चन्द्रमामा सूर्योदय भएपछि पनि विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सम्पर्क हुन नसकेपछि चन्द्रयान- ३ मिसन समाप्त हुने देखिएको छ । अन्तरिक्ष वैज्ञानिक एवं भारतको अन्तरिक्ष एजेन्सी संस्था इसरोका पूर्व अध्यक्ष एएस किरण कुमारले ल्यान्डर र रोभर ब्युँतने सम्भावना नरहेको बताएका हुन् ।
“अब ल्यान्डर र रोभर ब्युँतने आशा छैन । यदि उनीहरू ठीकठाक थिए भने त यही समयमा ब्युँतन्थे । अब सम्भावना छैन,” उनलाई उद्दृत गर्दै भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले लेखेको छ ।
चन्द्रयान-३ मिसनमा समेत सक्रिय रहेको उनले नै यस्तो भनाइ राखेपछि चन्द्रयान- ३ मिसन समाप्त हुने सम्भावना भएको विश्लेषण गरिएकाे छ । यद्यपि वैज्ञानिकहरू चन्द्रयान- ३ का तीन प्रमूख उद्देश्यहरू पूरा भएको बताउँछन् । जसमा चन्द्रमामा सकुशल सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमामा रोभर हिँडाउनु र वैज्ञानिक परीक्षण गर्नु रहेका छन् ।
इसरोका वैज्ञानिकहरू भने ल्यान्डर र रोभरसँग सम्पर्क स्थापित गर्ने प्रयासमै छन् । अब पुन: सम्पर्क स्थापित भए अतिरिक्त वैज्ञानिक परीक्षण गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ । इसरोले चन्द्रमामा रात भएपछि ल्यान्डर र रोभरलाई गत ४ सेप्टेम्बरदेखि ‘स्लिप मोड’ (निन्द्राको मुद्रा) मा राखेको थियो । तर २२ सेप्टेम्बरमा सूर्योदय भएपछि पनि ल्यान्डर र रोभरसँग सम्पर्क नभएपछि इसरोका वैज्ञानिकहरू चिन्तित भएका छन् ।
गत २३ अगस्टमा सफलतापूर्वक चन्द्रमाको दक्षिणी धुव्रमा ल्यान्डर अवतरण गरेसँगै भारत चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौंथो र दक्षिणी धुव्रमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो राष्ट्र बनेको थियो ।
साथै यस परियोजना मार्फत चन्द्रमाको माथिल्लो तहको माटो र त्यसको १० सेन्टिमिटर गहिराइको तापक्रममा निकै भिन्नता हुनु, चन्द्रमाको सतहमा सल्फर पाइनु, चन्द्र-कम्प (भूकम्प भने जस्तै चन्द्रमा आउने कम्पन) रेकर्ड हुनु, ल्यान्डरलाई ४० सेन्टिमिटर माथि उडाएर ३०/४० सेन्टिमिटर पर उतार्नु जस्ता तथ्य तथा गतिविधि इसरोले सफलतापूर्वक गरेको थियो ।