राइड हेलिङ प्लेटफर्म इनड्राइभले शुरु गर्यो चालक र यात्रुका लागि पहिलो पटक दुर्घटना बीमा

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २ फागुन । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि दुर्घटना बीमा सुविधा ल्याएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा इनड्राइभले चालक र यात्रुलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षा दिन यस्तो सेवा ल्याएको हो ।

advertisement

हालै भएको सम्झौतापत्रमा इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । बीमा योजनाअन्तर्गत कुनै दुर्घटनाका कारण चालक वा यात्रुको मृत्यु भएमा आठ लाख रुपैयाँ बीमा रकम प्रदान गरिनेछ ।

पूर्ण स्थायी अशक्तता भएमा आठ लाख रुपैयाँ उपलब्ध हुनेछ भने दुर्घटनाका कारण औषधोपचार आवश्यक परेमा ८० हजार रुपैयाँसम्म भुक्तानी गरिनेछ । नाबालिग यात्रुहरूका हकमा बीमित क्षतिपूर्तिको ५० प्रतिशत रकम प्रदान गरिनेछ ।

advertisement

इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेलले प्रयोगकर्ताको सुरक्षा र कल्याणलाई प्रमुख प्राथमिकता रहेको बताउँदै यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्ने उल्लेख गरिन् । सुरक्षित राइड हेलिङ वातावरण निर्माण गर्दै आवश्यक वित्तीय सुरक्षा प्रदान गर्न इनड्राइभ प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Techpana बाट