धनगढी, २३ पुस । भारतको अयोध्यामा रहेको राम मन्दिर परिसरभित्र गुप्त क्यामेराबाट तस्बिर लिन खोज्ने एक युवक पक्राउ परेका छन् । गुजरातका जयकुमार नामका ती युवकले आफ्ना चश्माको क्यामेराबाट मन्दिरको भित्री भागको फोटो खिच्न खोजेका थिए ।
टाइम्स अफ इन्डियका अनुसार, राम मन्दिरमा मोबाइल फोन र क्यामेरा लैजान निषेध भएपनि जयकुमारले आफ्नो स्मार्ट चस्माको लेन्सबाट गोप्य रूपमा मन्दिरका तस्बिरहरू खिचेका थिए । मन्दिर प्रशासनको निगरानीमा परेपछि उनी पक्राउ परेका हुन् ।
प्रविधि बजारमा अहिले हरेक दिनजसो नयाँ उत्पादन आइरहेका छन् । यो भिडमा उच्च प्रविधिका चस्माहरू फेसनसँगै नयाँ ट्रेन्ड बनेका छन् । राम मन्दिर परिसरमा फोटो खिच्ने जयकुमारले पनि यस्तै प्रविधियुक्त चस्मा लगाएका थिए ।
स्मार्ट मेटा रे-बान जस्ता अत्याधुनिक चस्मामा सामान्य चस्माभन्दा धेरै सुविधा हुन्छन् । चस्माको किनारामा हुने लेन्सबाट सुन्दर फोटो, भिडिओ खिच्न सकिन्छ । यसमा एआई र भ्वाइस कमाण्डको सुविधा पनि छ ।
यी चस्माले हातको प्रयोग नगरी फोन कल गर्न, टेक्स्ट पठाउन र अन्य विभिन्न सुविधा नियन्त्रण गर्न सघाउँछन् । यद्यपि, यस्ता प्रविधिले गोपनीयता उल्लङ्घन गर्न सक्ने सम्भावना हुन्छ । विशेषगरी संवेदनशील तथा निषेधित क्षेत्रमा फोटो/भिडिओ खिच्न यस्ता चस्मा दुरुपयोग हुन सक्ने देखिएको छ ।
Techpana बाट साभार