टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज जापानसँग खेल्दै नेपाल

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २४ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज जापानसँग खेल्दैछ। नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ।

समूह २ मा रहेको दुवै टोलीले एक/एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।

आज हुने खेलबाट समूह विजेता र उपविजेताको निर्क्योल हुनेछ।

जापानले बिहीबार कुवेतले दिएको १७८ रनको फराकिलो लक्ष्य पूरा गर्दै ५ विकेटले पराजित गरेको थियो।

बुधबार नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो।

शुक्रबार हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। किनभने यो खेलको अंक सुपर-६ मा पनि गनिनेछ।

छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

सुपर-६ पछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।

एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।

यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।

१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

समूह १ – युएई, मलेसिया, कतार

समूह २ – नेपाल, कुवेत, जापान

समूह ३ – ओमान, पिएनजी, सामोआ

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी।
सेतोपाटी

प्रतिक्रिया

FaceBook Comment Plugins