काठमाडौं, ८ साउन । एसिसी महिला क्रीकेट टी-२० कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । पराजित भएसङ्गै नेपाल समूह चरणबाट समेत बाहिरिएको छ ।
आज (मंगलबार) श्रीलंकाको दाम्बुला रंगशालामा भएको खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि सीता रानामगरले १८ रन, कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे । यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन् ।
बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले समान २/२ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको थियो ।
भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे । वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४७ रन जोडे ।
१४ ओभरसम्म पहिलो विकेटका लागि साझेदारी गर्दा उनीहरु दुई मिलेर १२२ रन जोडेका थिए। दुवैको विकेट नेपालकी सीता रानामगरले लिइन् ।
यस्तै कविता जोशीको एलबिडब्लूको धरापमा पर्नुअघि सन्जिवन सजनाले १० रन बनाइन् । यस्तै जमिमाहले नटआउट २८ रन जोडिन् ।
यो समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन् ।