३१ साउन २०७७ मा जलेश्वर प्रादेशिक अस्पतालको आईसीयूमा पाँच थान भेन्टिलेटर जडान भयो

सुमन श्रेष्ठ

३१ साउन २०७७ मा जलेश्वर प्रादेशिक अस्पतालको आईसीयूमा पाँच थान भेन्टिलेटर जडान भयो । मधेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य आपूर्ति केन्द्रले कोरोना महामारीको विशेष परिस्थिति भन्दै करिब २ करोड रुपैयाँमा ती उपकरण किनेको थियो ।

advertisement

ती पाँचै थान भेन्टिलेटर हालसम्म सञ्चालन नहुँदा अब उपयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालन गर्न नसकिएको जलेश्वर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर बताउँछन् । उनका अनुसार त्यहाँ भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी प्रादेशिक अस्पताल जनकपुर रेफर गर्ने गरिएको छ ।

‘ती उपकरण कसरी सञ्चालन गर्ने, जनशक्ति व्यवस्थापन कसरी गर्ने विषयमा बुधबारको बैठकमा छलफल भयो’, मेसु ठाकुरले भने, ‘हामी चाँडै जनशक्ति फुलफिल गरेर सञ्चालन गर्ने कोशिसमा छौं ।’

advertisement

आईसीयू, भेन्टिलेटर सञ्चालनका कम्तीमा १५ जना स्टाफ नर्स, चार जना डाक्टर, मेडिकल कन्सल्टेन्ट, एक्सरे, प्याथोलोजी र स्वीपरलगायतको जनशक्ति आवश्यक पर्छ । भेन्टिलेटर मात्र होइन, मधेश सरकारले किनेर पठाएका धेरै स्वास्थ्य उपकरण जनशक्ति नभएकै कारण प्रयोग गर्न नसकेको डा. ठाकुरले बताए ।

****

सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा आर्थिक वर्ष २०७८/०७९ मा तीनवटा डाइलासिस मेसिन जडान भएको थियो । मिर्गौला रोगीको उपचारका लागि अत्यावश्यक ती उपकरण मधेश प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले करिब ६० लाख रुपैयाँमा किनेको थियो । तर जडान भएको एकवर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । जनशक्ति अभावकै कारणले सञ्चालनमा नआएको अस्पतालका मेसु डा. नवलकिशोर झा बताउँछन् ।

‘यो सञ्चालन गर्न कम्तीमा दुईजना टेक्निसियन र एकजना फिजिसियन चाहिन्छ । जनशक्ति पटक पटक सरकारसंग माग गरिएको छ । प्रदेश सरकरसंगको हरेक कार्यक्रम, बैठकमा छलफल हुन्छ । यो कुरा सबैलाई थाहा छ’, मेसु झा भन्छन्, ‘तर जनशक्ति हालसम्म व्यवस्थापन हुन सकेको छैन ।’

उनका अनुसार संघीय सरकारले कोरोना महामारीकै समयमा चारवटा आईसीयू तथा भेन्टिलेटर पठाएको थियो । गत वर्षपनि संघीय सरकारले पाँचवटा एनआईसीयू पठाएको थियो । जनशक्ति अभावकै कारण ती उपकरण पनि प्रयोग गर्न नसकेको डा. झाको भनाइ छ ।

मलंगवा अस्पतालले पनि आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई जनकपुर रेफर गर्ने गरेको छ ।

****

मधेश सरकारको जनस्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रादेशिक अस्पताल जनकपुरमा आर्थिक वर्ष २०७८/०७९ मा करिब ५ करोड रुपैयाँ लागत पर्ने हृदय रोगसम्बन्धी उपचार तथा शल्यक्रिया हुने क्याथल्याब खरिद गरेर पठायो । जडान भएको ६ महिना भन्दा बढी भइसक्दा पनि यो उपकरण सञ्चालन हुन सकेको छैन । अस्पतालका निर्देशक डा. रामनरेश पण्डित जनशक्तिकै कारणले सञ्चालन गर्न नसकिएको बताउँछन् । हृदय रोगसम्बन्धी चिकित्सक चाँडै व्यवस्थापन गरेर ती उपकरुण सञ्चालन गर्ने उनको भनाइ छ । हाल प्रादेशिक अस्पतालले हृदयरोग सम्बन्धी बिरामीलाई बाहिर नै रेफर गर्ने गरेको छ ।

एक वर्षअघि नै करिब १० करोड रुपैयाँ लागतमा प्रादेशिक अस्पतालमा जडान गरिएको तीनवटा मोडुलर ओटी (अपरेसन थियटर) मध्ये युरो जेनरल र अर्थो गत साता मात्र सञ्चालनमा आएको छ । न्युरोसम्बन्धी ओटी अझै कहिलेदेखि सञ्चालन हुने निश्चित छैन । न्यूरो उपचारसम्बन्धी जनशक्ति नभएकाले सञ्चालनमा नआएको निर्देशक पण्डित बताउँछन् ।

‘जनशक्ति व्यवस्थापन गरेर चाँडै सञ्चालनमा ल्याउने हाम्रो तयारी छ’, निर्देशक डा. पण्डित भन्छन् ।अस्पतालले न्यूरोको बिरामीलाई अकास्मिक कक्षबाटै बाहिर रेफर गर्ने गरेको छ । ‘हर्ट र न्यूरोसम्बन्धी उपचार हाम्रो अस्पतालमा छैन । त्यसैले यसका गम्भीर बिरामीलाई बाहिर पठाउने गरिन्छ’, आकस्मिक कक्षका इन्चार्ज डा. शरद यादव बताउँछन् ।

****

मधेश सरकारकै जनस्वास्थ्य प्रयोगशालाले आर्थिक वर्ष २०७८/०७९ मा करिब ९ करोड रुपैयाँको लागतमा ब्लड बैंक खरिद गर्‍यो । जनकपुरको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रले प्रदान गरेको साढे ३ विघा जग्गामा गत वर्ष नै ब्लड बैंक जडान गरियो । तर जनशक्ति व्यवस्थापन नहुँदा त्यसको पूर्ण उपयोग हुन नसकेको प्रादेशिक प्रयोगशालाका स्टोरकिपर कर्मशील प्रसाद गोप बताउँछन् ।

गत साउन ६ गते दुईजना कर्मचारी राखेर ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । स्टोरकिपर गोपका अनुसार त्यहाँ कम्तीमा १५ जना कर्मचारी चाहिन्छ । तर हाल स्वयंसेवकको रुपमा कार्यरत होमाटोलोजिष्ट र टेक्नोलोजिष्ट एक/एकजना लगाएर जेनतेन सञ्चालन गरिएको छ ।

जनशक्तिको लागि मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा पनि व्यवस्थापन नगरेपछि बाध्य भएर १५ जनाको ठाउँमा दुईजना भोलेन्टियर राखेर सञ्चालनमा ल्याइएको हो ।

ब्लड बैंकमा कुनै व्यक्तिले जम्मा गरेको रगतबाट प्लाज्मा, प्याक्ट सेल र प्लेटलेट छुट्याउने गरिएको छ । तर, यो सेवा भने २४ घण्टा नै सञ्चालन हुन सकेको छैन । जनशक्ति व्यवस्थापन नभएसम्म २४ घण्टा नै प्रभावकारी सेवा प्रदान गर्न नसकिने प्रयोगशालाले जनाएको छ । मधेश सरकारले आवश्यकता र जनशक्तिको अवस्था नबुझी खरिद गरेका यस्ता करोडौं मूल्यका सामग्री हाल मधेशका विभिन्न अस्पतालमा प्रयोगविहीन अवस्थामा छन् । कतिपय उपकरण अब उपयोग गर्न नमिल्ने बनेको छ । यद्यपि जनशक्ति व्यवस्थापन गरेर ती उपकरण सञ्चालन गर्नेतर्फ मधेश सरकारले हालसम्म ध्यान दिएको छैन । त्यसैले सर्वसाधारण बढी शुल्क तिरेर टाढाको अस्पतालमा उपचार गराउन जान बाध्य छन् ।

महंगा स्वास्थ्य उपकरण खरिद गर्नु र समयमै जनशक्ति व्यवस्थापन गरेर सञ्चालन नगर्नुमा मन्त्री र कर्मचारीकै नियतमाथि प्रश्न उठ्ने गरेको छ ।

ठूलो कमिसन आउने उद्देश्यले नै जनशक्तिको सुनिश्चितता नगरी सरकार र कर्मचारीले मनपरी करोडौंको स्वास्थ्य उपकरण खरिद गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरु बताउँछन् ।

‘सरकारले करोडौंका उपकरण खरिद गरिरह्यो, तर जनशक्ति व्यवस्थापन र सञ्चालनतिर कहिल्यै ध्यान दिएन । त्यतातिर बजेट नै छुट्याउने काम भएन’ एक स्वास्थ्य अधिकारी भन्छन्, ‘ठूला उपकरण खरिद गर्दा मोटो कमिसन आयो । जसको कारण मन्त्री र उपल्ला कर्मचारी उतैतिर लागे । जनशक्तिमा कमिसन आउँदैन । त्यता तिर बजेट नै छुट्याइएन ।’

मधेश सरकारले धेरै स्वास्थ्य उपकरण खरिद गर्दा सामाजिक विकास मन्त्री नवलकिशोर साह र स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोदकुमार यादव थिए ।

साहले सामाजिक विकास मन्त्रालयलेका नेतृत्व पाँच वर्ष सम्हाले भने डा. यादव सामाजिक विकास मन्त्रालय अन्तर्गतकै आपुर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालयको प्रमुखको रुपमा लामो समय रहे । तत्कालिन मन्त्री साह जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् भने डा. यादव मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख सचिवको जिम्मेबारीमा छन् ।

सचिव यादवले कोभिड कालमा आवश्यकता अनुसार नै स्वास्थ्य उपकरण खरिद गरिएको दाबी गरे । उनले जनशक्ति पदपूर्तिको तयारी भइरहेको बताए ।

‘कोभिड कालमा खरिद भएको उपकरणले धेरैको ज्यान जोगियो । जनशक्ति त जतिबेला पनि व्यवस्थापन गर्न सकिन्छ । तर उपकरण खरिदमा बजेट नहुँदा वर्षौं लाग्न सक्छ’, सचिव यादव भन्छन् ‘अहिले प्रदेश सरकारको हस्पिटलमा उपकरणको अभाव छैन । विस्तारै जडान संचालन भएर स्वास्थ्य उपचार सेवा प्रभावकारी हुँदै छ । यदि हिजो खरिद नगरेको भए आज झनै अप्ठ्यारो हुन्थ्यो ।’