लोकतन्त्रको पक्षमा लाग्न नेकपा एमालेको वृहत मोटरसाइकल र्याली

धनगढी टुडे समाचार डेस्क

धनगढी, १७ चैत्र । नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले गणतन्त्र विरोधी विरुद्ध भोलि कैलालीमा हुने शक्ति प्रर्दशनको तयारी पूरा भएको बताएका छन् ।

advertisement

उनले चैत्र १५ गतेको घटनाको बिरोधमा भोलि (सोमबार ) कैलालीको गोदावरीदेखि धनगढीसम्म शान्तिपूर्ण मोटरसाइकल र्याली गर्दै र्यालीमा पाँच हजार मोटरसाइकल सडकमा उर्ताने दाबी गरेका छन् ।

आज (आइतबार) धनगढी टुडेसङ्ग कुरा गर्दै अध्यक्ष ढुंगानाले भने “भोलिको शक्ति प्रर्दशनको मुख्य उद्देश्य र्यालीमार्फत जनतालाई गणतन्त्रको बारेमा सचेतना कार्यक्रम र राजाको अप्रत्यक्ष सहयोगमा जनताको भौतिक सम्पत्ति सहित पत्रकारलाई समेत आगोमा जलाएर जुन विध्वंस मच्चाएका छन्, त्यो जनतालाई स्विकार्य छैन । तसर्थ दरबारीयाहरुलाई आम मानिस गणतन्त्रको पक्षमा रहेको देखाउन र्यालीको आयोजना गरिएको हो” ।

advertisement

“संविधानमा शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकार सुरक्षित हुँदा हुँदै पनि संविधान विरोधी, जुन खालको अशान्ति फैलाउने काम भैरहेको छ, त्यो बिल्कुल बेठीक छ । लोकतन्त्रको विकल्प निरंकुश हुन सक्दैन । त्यसैले सबैलाई लोकतन्त्रको पक्षमा उभिन” समेत उनले अनुरोध गरे ।

एमालेले गणतन्त्रको पक्षमा भन्दै भोलि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा शक्ति प्रर्दशन तथा जनसभा गर्ने जनाएको छ ।