धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुनेभएको छ ।
धनगढी उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै भोलि माघ ४ गतेदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि हुने रानाले जानकारी दिइन् ।
हरेक बर्ष गरिने विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ ।प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी,दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट,मार्सल आर्ट , तेक्वान्दो,उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ ।
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाबाट आन्तरिक तर्फ ८ लाख र सङ्घीय ससर्त अनुदान तर्फ १ लाख गरी नौ लाख बजेट बिनियोजित गरिएको छ । प्रतियोगिताको भोलि ११ बजे धनगढीको कभर्डहलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जनाएको छ ।