धनगढीमा सुदूरपश्चिम महोत्सव आजबाट सुरु

धनगढी टुडे समाचार डेस्क

धनगढी, २२ मङ्सिर । धनगढीमा सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण आजबाट सुरु हुने भएको छ । महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन ।

advertisement

कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका बताए । महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ । संघले कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहने जनाएको छ । व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको संभावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।

महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए।

advertisement