धनगढी, २७ जेठ । फूलबारी एकेडेमीले चार दिने हस्तलेखन सुधार कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको हस्तलेखन सुधार गरी शैक्षिक उपलब्धी थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रशिक्षक मोहन जैशीद्वारा अक्षरको बनावट, लेखन शैली, शब्द तथा वाक्य संरचनाको प्रस्तुति, पृष्ठ सजावट लगायतका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो ।
प्रशिक्षक जैशीले ‘हस्तलेखन केवल लेख्ने सीप मात्र नभई व्यक्तित्व विकाससँग पनि जोडिएको विषय भएकाले नियमित अभ्यासबाट उत्कृष्ट परिणाम हासिल गर्न सकिने बताए । उनले विद्यार्थीहरूको सिकाइप्रतिको लगाव र सक्रिय सहभागिताले आफू उत्साहित भएको’ उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद चापागाईंले ‘यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन तथा शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने’ उनले बताए ।
कार्यक्रममा सहभागी कक्षा १० का विद्यार्थी अशोक खड्काले ‘तालिमबाट आफ्नो हस्तलेखनमा उल्लेखनीय सुधार आएको अनुभव सुनाउँदै सिकेका सीपलाई निरन्तर अभ्यासमा लागू गर्ने बताए ।’
विद्यालयले यस्ता सिर्जनात्मक तथा सीपमूलक कार्यक्रममार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया
FaceBook Comment Plugins