विराटनगर । धनकुटा नगरपालिका–७ का किसान मातृका राई गोलभेँडाको मूल्य उच्च हुँदा खुसी छन् । तर यो खुसी क्षणिक हुने देखिएको छ । किनकि रोगका कारण गोलभेँडाको बोट नै मर्न थालेको छ । उनले १५ रोपनी जग्गामा गोलभेँडा खेती गरेका थिए । ‘तर, अहिले १ रोपनीमा मात्रै बचेको छ । अरु सबै रोगले मर्यो,’ उनले सुनाए । बचेको गोलभेँडाको मूल्य आफूले खेती गरेको इतिहासमै सबैभन्दा धेरै पाएको उनको अनुभव छ ।
‘गोलभेँडाको मूल्य राम्रो छ । ११० रुपैयाँ प्रति किलोसम्म विक्री भइरहेको छ । अघिल्लो वर्ष यो समयमा ४० रुपैयाँ प्रतिकिलो थियो,’ उनले सुनाए । तर, धनकुटाका अधिकांश किसानले लगाएको गोलभेँडा खेतीमा रोगले भने समस्यामा पारेको उनको भनाइ छ । ०६३ सालदेखि नियमित खेती गरिरहेका उनले यो सिजनमा अधिकतम ७५ रुपैयाँ प्रति किलोसम्ममा मात्रै टमाटर विक्री गरेका थिए । तर, अहिले ११० रुपैयाँसम्ममा विक्री गरे ।
धनकुटाको धेरैजसो उत्पादित गोलभेँडा विक्री धरानस्थित कृषि बजारबाटै हुने गरेको छ । कृषि बजार व्यवस्थापन समिति, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले पनि गोलभेँडाको मूल्य इतिहासमै उच्च भएको आफूले पाएको बताए । धनकुटाको टमाटर यो सिजनमा उक्त बजारमा दैनिक सरदर ३० टन आउँछ ।
‘धरान कृषि बजारमा गोलभेँडाको होलसेल मूल्य बुधबार १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भयो । अहिलेको मूल्य १४० रुपैयाँसम्म पुगेको नयाँ रेकर्ड हो,’ भट्टराईले सुनाए ।
गोलभेँडाको मूल्य अत्याधिक हुनुमा माग धेरै भएको उनको दाबी छ । त्यही अनुसार गोलभेँडा लिन धरान, इटहरी, विराटनगर, दमक, विर्तामोबाट जाने व्यापारीको चाप धेरै छ । उनका अनुसार भारततिर पनि टमाटर गइरहेको कारण मूल्य वृद्धि भएको देखिन
दुई साता अघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेँडाको मूल्य बढेर अहिले विराटनगरमा खुद्रा मूल्य १४० देखि २ सय रुपैयाँसम्म पुगेको व्यापारीहरुले बताएका छन्
उनको अनुभवमा धनकुटाबाट विगतमा आउने भन्दा गोलभेँडा आयात घटेको छैन । उनले किसानले एक महिना अगाडि विक्री नभएर गोलभेँडा रोडमा फाल्दा कसैले क्षतिपूर्ति नदिको स्मरण गर्दै अहिले उच्च मूल्य किसानले पाउनु राम्रो भएको प्रतिक्रिया दिए । ‘सधैँ मूल्य पाइरहने वातावरण बनाएदेखि किसानलाई प्रोत्साहन मिल्ने थियो,’ उनले भने ।
केही समय अघि नेपालमा भारतीय गोलभेँडा खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए । नेपाली किसानले गोलभेँडाको भाउ नपाएको भन्दै विरोध जनाएपछि सरकारले भारतबाट हुने आयातमा कडाइ गरेको थियो । त्यसको एक महिना पनि बित्न नपाउँदै भारतमा गोलभेँडाको अभाव सिर्जना भई पश्चिम बंगाल क्षेत्रमा प्रतिकिलो २०० रुपैयाँ भारुमा बिक्री हुन थाल्यो ।
टमाटरको अभाव भएपछि भारतले पनि आयातमा लगाउँदै आएको प्रतिबन्ध खुला गरेको छ । भारतले आयात खुला गरेपछि नेपाली किसानले उत्पादन गरेको ठूलो परिमाणमा गोलभेँडा दैनिक भारत निर्यात भइरहेको छ ।
धनकुटा, तेह्रथुम आदि जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडा अहिले प्रतिकिलो ११० रुपैयाँले बिक्री गरिरहेको विराटनगरका तरकारी व्यवसायीहरुले बताएका छन् ।
लामो समयदेखि विराटनगरको गुद्री बजार सञ्चालक समितिमा आवद्ध भएका गुड्डु मियाँका अनुसार अहिले किसानहरुले गोलभेँडाको पर्याप्त मूल्य पाइरहेको र भारततर्फ निर्यात हुँदा नेपाली उपभोक्ताले भने महँगोमा उपभोग गर्नु परेको बताएका छन् ।
अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । पहिले २० हजारको गोलभेँडाले पिकअप भरिने गरेको थियो । अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । गुड्डु मियाँ भन्छन्, ‘पहिले २० हजारको गोलभेँडाले पिकअप भरिने गरेको थियो । अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।’धनकुटा क्षेत्रको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान, इलाम, पाँचथर तथा भोजपुरका कतिपय ठाउँमा गोलभेँडा खेती हुने गरेको छ ।
धनकुटा–४ कै अगम राईले भने यो सिजनमा गोलभेँडा निकाल्न सकेनन् । एक महिना अगावै उनले गोलभेँडा विक्री गरिसके । भन्छन्, ‘बेच्ने बेलामा बोट सुक्न थाल्छ । के कारणले भइरहेको छ भन्ने कुरा पहिचान हुन सकेकै छैन ।’
कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले पनि समस्याको पहिचान नभएको उनले बताए । ‘माटो बिग्रिएको हो कि भन्ने विषयमा पनि हामीले परीक्षण गर्यौं । तर, त्यस्तो देखिएन । नयाँ माटोमा पनि उही समस्या देखियो,’ अगमले भने ।