बोक्सी आरोपले श्रीमानले कुट्यो श्रीमतीलाई

सुमन श्रेष्ठ

महोत्तरीको पिपरा गाउँपालिका–२ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सी भएको भन्ने आरोपमा उनका श्रीमान् र सौता लगायतले गत असार ३१ गते निर्घात कुटपिट गरे। उनी जिउभरि नीलडाम लिएर भोलिपल्ट जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगिन्।

advertisement

काजलले आफूलाई बोक्सी भनेर पटक पटक यातना दिने श्रीमान् र परिवारका अन्य केही सदस्यलाई कारबाही गरी आफूलाई न्याय दिलाउन प्रहरीसामु याचना गरिन्।

‘सौतापट्टिको बच्चा बिरामी पर्‍यो भने, परिवारमा कसैलाई केही भयो भने बोक्सी भनेर सबैले मलाई कुट्छन्। कति पटक त बेहोस पनि भइहाल्छु,’ उनले आफ्नो शरिर देखाउँदै प्रहरीलाई भनिन्। गत वैशाखमा उनको ‘बोक्सी उतार्न’ र ‘शक्ति भगाउन’ उनका श्रीमानले उनलाई मुखियापट्टि मुसहरनिया गाउँपालिकाको फेचहा टोलमा रहेको हनुमान मन्दिरमा पुर्‍याएर झाँक्रीको जिम्मा लगाएका थिए।

advertisement

असारको अन्तिम साता झाँक्रीले उनलाई राति मसान घाटमा लगे। दुई पटक परेवा र एकपटक कुभिन्डोको बलि पनि दिन लगाए। झाँक्रीले काजल बोक्सी होइनन् भन्ने टुंगो गरेर घर पठाए।

असार ३१ गते सौताकी छोरी बिरामी परिन्। धामीसँग मिलेको भनेर श्रीमान् र सौताले फेरि निर्घात कुटपिट गरेर घाइते बनाए।

काजलले आफ्नो उजुरी सुनाइसकेपछि लिएर प्रहरी कार्यालयमा पुगेपछि त्यहाँको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले घरेलु हिंसा सम्बन्धी निवेदन दिनू र घाउ जाँच गराएर छलफलमा आउनू भन्यो।

प्रहरीले साउन ४ गते पीडक श्रीमान् विनोदकुमार दासलाई बोलायो र दुबै पक्षलाई छलफलमा राख्यो। प्रहरीका तर्फबाट काजललाई पैसा लिएर श्रीमानसँग सम्बन्ध तोड्न र अलग बस्न भनियो ।

‘बोक्सीको कुरा लेखेर जाहेरी दियौ भने तिम्रो परिवारका सबैलाई जेल भइहाल्छ। अदालतको चक्कर काट्नुपर्छ। तिमी यस्तो जाहेरी नदेऊ घरेलु हिंसाको निवेदन देऊ भनेर सई (प्रहरी नायब निरीक्षक) साहेबले भन्नुभयो,’ काजलले भनिन्, ‘म कुटाइ खाँदा खाँदै टुटिसकेकी थिएँ, मलाई सई साहेबले जस्तो भन्नुभयो त्यस्तै निवेदन दिएँ।’

छलफलमा काजलले श्रीमानलाई कुनै कारबाही नगरे पनि आफूलाई नागरिकता प्रमाणपत्र बनाइदिनुपर्ने र सम्पत्तिको हक दिनुपर्ने माग राखिन्। यसपछि विनोदकुमार भड्किए। कुरा मिलेन। प्रहरी कार्यालयले आपसी छलफल गरेर आउनू भनेर बाहिर पठायो। प्रहरी कार्यालय परिसरबाहिर गएर छलफल गर्न र कागज बनाएर आउन प्रहरीले भनेको उनले बताइन्।

काजलका अनुसार उनका श्रीमान् विनोदकुमारले जीवनयापनका लागि ब्युटी पार्लर खोल्न पैसा दिने र काजल अलगै बस्ने सहमति भयो।विनोद कुमारले पैसा बुझाएको प्रमाण चाहिन्छ भनेपछि लिखत बनाउने कुरा भयो। एक जना लेखनदासले लिखत तयार गरे।

काजलले लिखतमा भएअनुसारको पैसा लिइन्। कागज बनाउन पनि राजी भइन्।

लिखतमा एकापट्टि ‘बुझिलिनेको नामः काजल कुमारी देवी’ लेखेर औंठाछाप लगाइएको छ। अर्कोपट्टि ‘बुझाउनेको नामः विनोद कुमार दास’ लेखेर सही गरी औंठाछाप लगाइएको छ। काजल लेखपढ गर्न जान्दिनन्। लिखतमा उनले औंठाछापमात्र लगाएकी छन्।

लिखतमा ‘रोहवर’ बसेकी वडा सदस्य रिता देवीको पनि औंठाछाप छ। उनी पनि लेखपढ जान्दिनन्।

काजलले देखाएको लिखतमा ‘…३२ वर्षकी काजल कुमारी देवीले विनोदकुमार दाससँग परेको विवादमा विनोदकुमार दाससँग भारतीय रू पैयाँ १,०५,००० – (अक्षरूपी एक लाख पाँच हजार) भारतीय रूपैयाँ लिई बुझी निज विनोदकुमार दास उपरको अंश लगायत सम्पूर्ण दाबी छोडाई निजसँगको नाता सम्बन्ध विच्छेद गरी लिएको छु।विनोदकुमार दाससँग आफ्नो नातासम्बन्ध नरहने गरी मैले उनी उपर कुनै किसिमको दाबी गर्ने छैन भनि आफ्नो मनोमान खुशीराजी सँग यो सम्झौताको कागज लेखी लेखाई सहिछाप गरि एकएक प्रति लिएका छौं। साक्षी किनाराको सदर म काजल कुमारी दास नगद रु.१,०५,००० – रुपैयाँ बुझी पिपरा गाउँ छोडी दिने छु। मैले फेरि विनोद कुमार दासउपर कुनै प्रकारको दाबी गर्ने छैन । नाता सम्बन्ध राख्ने छैन’ लेखिएको छ।