पछिल्लो समय सरकारले पूर्व तयारी गर्न नसक्दा मानिस र बस्तुभाउलाई सङ्क्रामक रोगले गाँजेको छ । मानिसलाई आँखा पाक्ने रोग र डेंगु सङ्क्रमणले सताएको छ भने बस्तुभाउलाई लम्पी स्किन रोगले सताउँदा किसान आहत छन् । दुई साता यता आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको आँखा रोग विशेषज्ञहरू जनाउँछन् । राप्ती आँखा अस्पतालमा आँखाको उपचार गर्न जानेमध्ये ७० प्रतिशतभन्दा धेरै आँखा पाक्ने समस्या लिएर पुग्ने गरेको सो अस्पतालका नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले बताए ।
यस्तै, नेत्रज्योति संघका सञ्चार संयोजक कमल भट्टराईका अनुसार संघ अन्तर्गतका अस्पतालमा आँखा पाक्ने समस्या लिएर करिब ८० प्रतिशत उपचारका लागि पुग्ने गरेका छन् ।
आँखा पाक्ने रोग अर्थात् कन्जङ्ग्टिवाइटिसको समस्या देशभर फैलिएको पाइएको छ ।
यसै क्रममा, गेटा आँखा अस्पताल, धनगढीमा करिब ७० प्रतिशत, लमही आँखा अस्पताल, दाङमा ८० प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, विनोद निता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत आँखा पाक्ने रोग देखा परेको छ ।
उता, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमा ३० प्रतिशत, गौर आँखा अस्पताल २५ प्रतिशत आँखा पाक्ने रोग देखा परेको छ ।
यस्तै, काठमाडौँ उपत्यका भित्रका आँखा अस्पताल र अन्य अस्पतालका आँखा विभागमा आँखा पाक्ने बिरामीको चाप बढेको चिकित्सकहरू सुनाउँछन् ।
आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएपछि देशका विभिन्न स्थानमा विद्यालय बन्द गर्ने निर्णय दर बढ्दै गएको छ ।
आँखा पाक्दा आँखा रातो हुने, आँसु आउने, बिहान चिप्रा आउने, चिलाउने, पोल्ने, घाममा हेर्न गाह्रो हुने, परेलाका डिल सुनिने लगायतका लक्षण देखिन्छ ।
कहिलेसम्म रहन्छ आँखा पाक्ने प्रकोप ?
आँखा पाक्ने रोग अझै डेढ दुई महिनासम्म देखिन सक्ने नेत्र विशेषज्ञ डा.रसाइलीको अनुमान छ । यस मौसममा एडिनो भाइरस बढी सक्रिय र वृद्धि हुने भएकाले प्रकोपको रूपमा फैलिएको उनको जिकिर छ । यस समयमा खेतबारीमा काम व्यस्त हुने र व्यक्तिको सरसफाइमा ध्यान नपुग्दा भाइरसले चाँडो आक्रमण गर्ने उनको भनाइ छ ।
अहिले भाइरस, ब्याक्टेरिया वा केले आँखा पाक्ने रोग फैलाउन सहयोग गरेको छ भन्ने विषयमा भाइरसको कल्चर, पीसीआर परीक्षण गरेर मात्रै थाहा पाउन सकिने उनले बताए । आँखा रोग विशेषज्ञहरूले हाल लक्षणका आधारमा क्लिनिकल्ली नलेजका आधारमा उपचार तथा परामर्श दिँदै आएको उनको भनाई छ ।
एडिनो भाइरसको सङ्क्रमणका कारण आँखा पाक्ने रोग देखियो भनिए पनि यस विषय अध्ययन नभएको उनले बताए ।
‘आँखा रातो हुनु, कोश सुनिनु लगायतका समस्या देखिनु भनेको भाइरलका कारण मात्रै सङ्क्रमण भएको ठोकुवा गर्न हुँदैन,’ उनले भने, ‘ब्याक्टेरिया सङ्क्रमण हुँदा पनि आँखा रातो हुने, आँखाको कोशहरू सुनिन सक्छ । त्यसैले जाँच गराउन जरुरी छ ।’
उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आँखाको स्वास्थ्य उपचार नेत्रज्योति संघमार्फत् हुँदै आएकाले संघको सुझावअनुसार मन्त्रालयले आँखा पाक्ने रोग विषयमा जनचेतना तथा अन्य काम निरन्तर गरिरहेको बताए ।
डेंगु प्रकोप
इपीडीमीयोलोली तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार डेंगु सङ्क्रमण ७४ जिल्लामा पुष्टि भएको पाइएको छ । गएको पुस महिना यता ९ हजार ५११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको, ८ जनाको मृत्यु भएको ईडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।
सबैभन्दा धेरै डेंगु सङ्क्रमित कोशी प्रदेशमा छन्, जहाँ ६ हजार ९३४ केस पुष्टि भएको छ । दोस्रोमा बागमती प्रदेश रहेको छ, जहाँ १ एक हजार ३९१ केस पुष्टि भएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ४१९ र सुदूरपश्चिममा ३८० केस पुष्टि भएको ईडीसीडीले जनाएको छ । लुम्बिनीमा २०६, मधेस प्रदेशमा ५३ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । हालसम्म डेंगु सङ्क्रमण पुष्टि भएका ७४ जिल्लामध्ये एक सय भन्दा बढी केश भन्दा ९ जिल्लामा देखिएको छ । सबैभन्दा बढी सुनसरीमा मात्रै ५ हजार ४१, दोस्रोमा ९७६ केश मोरङमा तथा २२३ कास्कीमा पुष्टि भएको छ । क्रमशः २२३ धनकुटा, १९२ दार्चुला, १८२ झापा, १४६ काठमाडौँ, १०२ सङ्खुवासभामा पुष्टि भएको छ ।
यस वर्ष वर्षात्को समय बाँकी रहेकोले डेंगु सङ्क्रमण दर अझै बढ्न सक्ने सरकारी अधिकारीहरूको अनुमान छ ।
मन्त्रालयले डेंगु सङ्क्रमण नियन्त्रणका लागि सहजीकरण, सहयोग तीनै तहसँग समन्वय गरिरहेको बताउँदै मन्त्रालयका सहप्रवक्ता डा.अधिकारी भन्छन्, ‘व्यक्तिगत तवरबाट डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरपर पानी जम्न नदिने, झारी बढ्न नदिने, सङ्क्रमित व्यक्तिलाई टोक्न नदिने कुरामा विशेष ध्यान दिनुपर्छ । छ ।’
लम्पी स्किनको महामारी
विगत ५ महिनादेखि पशुहरूमा लाग्ने लम्पी स्किन रोगले महामारीको रूप लिएको छ । यसबाट हालसम्म ७७ जिल्लामा ११ लाख ४९१ पशु सङ्क्रमित भएका छन् ।
हाल सक्रिय सङ्क्रमित १ लाख ८३ हजार ८०१ रहेको पशु सेवा विभागका सूचना अधिकारी तथा वरिष्ठ पशुरोग विज्ञ डा.चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार यसबाट ४८ हजार ८८० पशु मरेका छन् । त्यस्तै, हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको छ । लम्पी स्किन रोग विरुद्धको गटपक्स खोप ल्याउन चाहने प्रदेश, स्थानीय तह वा आयातकर्ताले नेपालमा एकद्वार राष्ट्रिय प्रणालीमा आयात गर्न आवेदन हालसम्म नआएको उनले बताए ।
विभागले खोप खरिदका लागि कागजात र प्रक्रिया पुगेको खण्डमा खोप आयातका लागि स्वीकृत दिइने डा. ढकालले बताउँछन् । हालसम्म प्रदेश र केही स्थानीय तहहरूले १० लाख मात्रा खोप आयात गरेका छन् ।
पशुलाई लम्पी स्किन रोग अनि जनता डेंगु र आँखा पाक्ने रोगको मारमा छन् । उता, सांसदहरू भने सांसदलाई बन्धक बनाएर आ–आफै मारामारमा छन् । यसले हाल देखिएको रोग अझ भयावह बन्ने देखिन्छ ।