सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकाले जिल्ला अधिवेशनहरु स्थगति गरेको हो ।
माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै जिल्ला अधिवेशनहरुको मिति तोक्ने गरी हाललाई तोकिएका अधिवेशनहरु स्थगित गरिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले आजको सचिवालय बैठकबाट यो नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक जुन माघको १४ र १५ गते राखेको छ, त्यसपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ’, उनले भने ।