सुन प्रकरण अनुसन्धान फाइल राजश्वले सिआइबीलाई बुझाउने निर्णय गरेको छ

सुमन श्रेष्ठ

राजश्व अनुसन्धान विभागले सुन प्रकरणको थप अनुसन्धान गर्न फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बुझाउने निर्णय गरेको छ।

advertisement

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय भएको जानकारी दिए। ‘यो संगठित अपराध हो। अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूलाई पनि प्रहरीलाई बुझाउँदैछौं,’ आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले भने, ‘यसमा अन्तरदेशीय अपराधजस्ता विषय पनि देखा परेका छन्।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन २ गते करिब एक सय किलो सुन बरामद भएको थियो।

advertisement

सुन प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएकोमा एक जनालाई हाजिरी जमानीमा छोडेको उनले बताए।

राजश्वको हिरासतमा रहेका बाँकी १७ आरोपीलाई प्रहरीको जिम्मा लगाउने निर्णय गरिएको उनले बताए। नेपाल, भारतसहित विभिन्न देशका नागरिकलाई सुन प्रकरणमा पक्राउ गरिएको थियो।

‘अनुसन्धानका क्रममा कतिपय ठाउँमा छापा मारिएको छ, सबै अवस्था अध्ययन गर्दा यो विषय पेचिलो बनेको निष्कर्ष हाम्रो छ,’ उनले भने।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरण छानबिन गर्न सिआइबीलाई दिन पनि निर्देशन दिएका थिए।