जापानिज इन्सेफलाइटिसबाट एक जनाको मृत्यु

सुमन श्रेष्ठ

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफलाइटिस’बाट एक जनाको मृत्यु भएको छ ।

advertisement

देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको जापानिज इन्सेफलाइटिसबाट निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । “जिल्लामा चालु आर्थिक वर्षमा दुईजना महिलामा जापानिज इन्सेफलाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उहाँले भन्नुभयो, “एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।”

गत आव २०७९/८० मा जिल्लामा पाँच जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गत आवमा सात जनामा सङ्क्रमण पुष्टि भएको मध्य पाँच जनाको मृत्यु भएको हो । जिल्लामा गत आवबाट जापानिज इन्सेफलाइटिस फेला परेको प्रमुख चापागाईंले बताउनुभयो । जिल्लामा रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

advertisement

“जापानिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरु मध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिह्नहरु भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्”, उहाँले भन्नुभयो, “विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो, साउन, भदौ र असोजमा जापानिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।”

यस रोगबाट धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको चापागाईंले बताउनुभयो ।

“यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छन्”, उहाँले भन्नुभयो, “यस रोगका खतराका लक्षणहरु छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।”