फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको छ।
नेपालले लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो।
नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले अञ्जन विष्टको पासमा ५३ औं मिनेटमा गोल गरेका थिए।
यससँगै नेपाल समग्रमा २-१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।
यस्तो हुने छ दोस्रो चरणको प्रतिस्पर्धा
विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई-दुई खेल खेल्नेछन् ।
दोस्रो चरणमा नेपालको भेट यूएई, बहराइन र यमन हुनेछ । तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ ।
नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो ।
दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । त्यसको तयारी स्वरुप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन् ।
दोस्रो चरणमा ९ समूहबाट समूह विजेता र उपविजेता हुने दुई दुई गरी कूल १८ टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् र २०२७ को एसियन कपमा पनि सिधै छनोट हुनेछन् । दोस्रो चरणमा राम्रो प्रदर्शन गर्न सके विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने र एसियन कपमा ऐतिहासिक छनोट हुने अवसर समेत नेपाललाई हुनेछ ।