काठमाडौँ : त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर १ सय ४४ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरे ।
नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।
युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।
त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए।
चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए।
त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।