१४ कात्तिक, काठमाडौं : टि–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो ।
नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे ।मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।
त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान १/१ विकेट लिए ।
नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहिबार ओमानसँग खेल्ने छ। खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा नै हुनेछ ।