फूलवारी : धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ मा भेटिएका छाडा पशु-चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै छ ।उपमहानगरपालिकाको आर्थिक सहयोगमा हाम्रो गौशाला फूलवारीले धनगढी १८ तुलसीबारीमा निर्माण गरेको गौशालामा आज छाडा चौपायाको व्यवस्थापन गरिन लागिएको हो ।
गौशालाको निर्माण कार्य, दाना , पराल र घाँसको व्यवस्थापन पछि आज साबिकको फूलवारी क्षेत्रमा रहेका छाडा चौपायाको व्यवस्थापन गरिन लागिएको हाम्रो गौशाला फूलवारीका सचीव यादव भण्डारीले बताए । उनले आज बिहिवार फूलवारीमा रहेका करिब ३ सय छाडा चौपायालाई गौशालामा राखिने लक्ष्य रहेको बताए । उनले भने, आज हामी सबै राख्ने प्रयास गर्छौ । भोलिबाट सडकमा चौपाया भेटिएमा सम्बन्धित टोल समिती र वडा कार्यालयले भेटिएका चौपाया छाडा नै हुन् भनेर प्रमाणित गरेमात्र गौशालामा राख्छौ ।
जति भेट्यो त्यति गौशालामा राख्दै गएमा घरपालुवा चौपाया छोड्ने क्रम बन्द नहुने भएकाले आज भेटिएका सबै चौपायालाई व्यवस्थापन गरिने तर भोलिबाट टोल समिती र वडाले प्रमाणित गरेपछि मात्र गौशालामा व्यवस्थापन गरिने सचीव भण्डारीले जानकारी दिए ।
गौशालामा चौपायाको हेरचाहको लागि ४ जना कर्मचारी राखिएको छ भने दाना र घाँस पराल सहयोग स्वरुप माग्ने र किन्ने प्रक्रिया जारी रहेको बताइएको छ ।