पुनर्वासको दुधवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुहले प्रदेशको वन मन्त्रालयमा ज्ञापन पत्र बुझायो

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरको पुनर्वासका जंगली वन्यजन्तु पिडीतहरुले मंगलबार सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।

advertisement

खुल्ला सिमासंगै जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले बालिनाली, घर टहरा तथा ब्यक्तिको जिउधनमा समेत क्षति पुराउदै आएको छ । जंगली जनावरहरुको आक्रमणका कारण विगत वर्षमा ५ जनाको ज्यान गएको तथा सयौंको हाराहारीमा घाईते हुनुपरेको छ । विशेषगरी उक्त क्षेत्रबाट आउने हात्ती तथा अन्य जनावरहरुको कारण खेतीबाली नष्ट हुने गरेका र सयौं घरहरु भत्किएको दुधवा राष्ट्रिय निकुञ्ज बन्यजन्तु प्रभावित खाद्य अधिकार समुहका अध्यक्ष केशब प्रसाद तिमिल्सेनाले बताउनुभयो ।

advertisement

बिचफाँटादेखि ख गाँउ सम्म करिव ५ किलोमिटर सो क्षेत्रमा विद्युतीय तारवार लगाइएको भएपनि त्यो अपुग रहेको दुधवा राष्ट्रिय निकुञ्ज बन्यजन्तु प्रभावित खाद्य अधिकार समुहका सल्लाहाकार सदस्य कुबेर नाथले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७८/७९ मा विद्युतीय तारवारका लागि प्रदेस मन्त्रालयले २० लाख रकम बिनियोजन गरेको भए पनि नाम फरक परेकाले सो काम हुन नसकेको श्याम परियारले जानकारी दिनुभयो । त्यस्तै आर्थीक बर्ष २०७९/८० मा मन्त्रालयबाट पुर्नवास नगरपालिका वार्ड नं ८, ९ र १० मा मेसवायर तारवारका लागि दश लाख तथा वार्ड नं ९ विद्युतीय तारवारका लागि दश लाख बिनियोजन गरिएको भएपनी सो काम कार्यान्वयन हुन नसक्दा आफुहरु समस्या भोग्न बाध्य भएको उहाँले बताउनुभयो ।

बाँच्न पाउने तथा खान पाउने अधिकारसंग सम्बन्धित सो विषयलाई गम्भीरता पूर्वक लिई आफ्ना मागहरु सम्वोधन गर्न पहलका लागि मन्त्रालयका महाशाखा प्रमुख हेमराज विष्टलाई ज्ञापन पत्र बुझाउदै निम्न मागहरु गरेका छन् :

पिडीतका मागहरुः

१) पुनर्वास नगरपालिकाले तयार गरि सिफारिस साथ त्यस मन्त्रालयमा पेश गरिएको बिस्तृत लागत स्टिमेट अनुसार क्रमागत योजना अन्र्तगत राखी विद्युतीय तारवार कार्य सम्पन्न गरिदिन पहल गर्ने ।
२) वन्यजन्तुका कारण हुने क्षतिको आधारमा न्यायोचित क्षतिपूर्ति तथा घाईतेहरुको शिघ्र उपचारको ब्यवस्था हुने नीति तथा सो को कार्यान्वयनका लागि पहल गर्ने ।

पुनर्वासका जंगली बन्यजन्तु पिडीतहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै महाशाखा प्रमुख हेमराज विष्टले बजेट विनियोजन भएर पनि काम हुन नसकेको कारण बुझ्ने बताउनुभयो । उहाँले अबको योजनामा यस विषयलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।