पुनर्वासमा हात्तीको बथान उखुबारीमा पसेपछि स्थानीय पप्पु रानाले लगाएको पाँच विगाहा क्षेत्रफलको उखु नष्ट

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरको पुनर्वास नगरपालिकामा वार्ड नम्वर १० विकासबस्तीमा हात्तीले उखुवारीमा क्षति पुर्याएको छ । विहिबार राती बच्चा सहितको हात्तीको बथान उखुबारीमा पसेपछि सो क्षेत्रको झण्डै पाँच विगाहा क्षेत्रफलमा लगाएको उखु नष्ट भएको हो ।

advertisement

स्थानीय पप्पु रानाले विजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाएको उखुबारी सयौँको संख्यामा हात्तीहरु प्रवेश गरी उखुखेती नष्ट गरेको उहाँले बताउनुभयो । आफुले लगाएको उखु यो क्षेत्रको लागि नयाँ उखु रहेको कृषक रानाको भनाइ छ ।

advertisement

आफुले भारतको पञ्जाबबाट उखुको विउ ल्याएर लगाएको भएपनी, अब काट्ने समयमा हात्तीले सबै सखाप पारिदिदा लाखौँ रुपैयाको नोक्सानी भएको उहाँले बताउनुभयो ।
रानाले विद्यालयको करिब १० बिघा जग्गा लिजमा लिई उखुखेती गर्नुभएको थियो । सो मध्ये आधा उखुबारीमा हात्तीको बथानले नष्ट गरेको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताउनुभयो । भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गरी लालझाडी वन संरक्षण क्षेत्रतर्फ जादै गर्दा स्थानीयको अवरोध र होहल्लाले गर्दा निस्कने बाटो नपाएर हात्तिको ठूलो बथान उखुबारीमा पसि नोक्सान गरेको उहाँले बताउनुभयो ।

विहिबार हात्तिले नोक्सान पुर्याएको क्षेत्रमा शुक्रबार स्थानीय, जनप्रतिनिधि,वनका प्रतिनिधि, प्रहरी, पत्रकार र उखुमीलका प्रतिनिधी सहितको टोलिले अनुगमन गरेका छ । अनुगमन पश्चात पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले हात्तीबाट भएको नोक्सानीको क्षतीपुर्तीका लागि आफुले पहल गर्ने बताउनुभयो ।