धनगढी, ३२ साउन । धनगढी विमानस्थलको पार्किङ शुल्कमा वृद्वि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको छ ।
भोली भदौ १ गतेदेखि लागू हुनेगरी पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले सूचि सार्वजनिक गरेपछि विरोध भएको छ । नयाँ शुल्कअनुसार मोटरसाईकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, त्यस्तै कार, जिप, टेम्पो आदिको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ साथै हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ र बस तथा ट्रकको प्रतिघण्टा ९० र प्रतिदिनको ५४० रूपैयाँ निर्धारण गरिएको छ । विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि वृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले वृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गरेको छ । शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संगठनले पहिले कै शुल्क कायम गर्न माग गरेको हो । संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । १५ दिनभित्र माग सम्बोधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने समेत उनले बताए ।