संचारकर्मी रमेश ऐडीले स्वर्गीय आमा बिस्ना देवि ऐडीको स्वर्गारोहण भएको पुण्य तिथिको अवसरमा दृष्टि फाउन्डेसनमा भोजन दान गरेका छन् । सुल्जन मिडिया प्रालिद्वारा संचालित सुदूरपश्चिम टाइम्सका संचालक ऐडीले आज फागुन २९ गते स्वर्गीय आमाको स्वर्गारोहण भएको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा रहेका ६५ जना घरबार विहिन, बेसहारा महिला तथा बालबालिकाहरुलाई भोजन गराएका हुन् ।
धनगढी उपमहानगरपालिका-१९ निवासी पत्रकार ऐडीकी आमाको वि.स. २०७८ फागुन २९ गतेका दिन करेन्ट लागेर स्वर्गारोहण भएको थियो । स्वर्गीय आमाको सम्झना र सम्मानमा गत वर्ष धनगढीको मानव सेवा आश्रममा भोजन दान गरेका ऐडीले यस वर्ष धनगढी उपमहानगरपालिका-१३, कैलाली गाउँमा रहेको दृष्टि फाउन्डेसनमा भोजन दान गरेका हुन् । पत्रकार ऐडीले पिता महावीर ऐडी,दिदी भावना ऐडी,भाई भुवन ऐडी र बहिनी रोसा ऐडीको तर्फबाट फाउन्डेसनमा उपस्थित भएर रु. १० हजार बराबरको भोजन दान गरेका हुन् ।
वि.स. २०७५ सालमा कल्पना भट्टले स्थापना गरेको दृष्टि फाउण्डेसनले घर परिवार विहिन,बेसहारा महिला तथा बालबालिकाको हेरचाह र पालन पोषण गर्दै आएको छ ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा हाल ५० जना महिला र १५ जना बालबालिका गरि ६५ जनाको अभिभावकत्व ग्रहण गरिरहेको फाउण्डेशनलाई आमाको सम्झनामा एक दिनको खाना सहयोग गर्न पाएकोमा ऐडीले खुसी व्यक्त गर्दै सबैजनाले आफ्नो शुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा सहयोग गर्नुपर्ने बताए ।
उनले अनावश्यक फजुल खर्च गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका साथै अरुको जीवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय आमाको स्वर्गारोहण भएको तिथिमा हरेक वर्ष भोजन दान गर्ने बताए ।