दाङमा सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन्।
घाइतेमध्ये बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकबहादुर बुढाको अवस्था गम्भीर छ।
उनीहरूसहित घाइते स्थानीय ३२ वर्षीया संगीता बुढा, सल्यानको शारदा नगरपालिका–९ की ५० वर्षीया नन्दकली थापालाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नर्सिङ कलेजमा रिफर गरिएको छ।
दुर्घटनाका घाइतेमध्ये बबई–१ की ४० वर्षीया बन्दना बुढाको तुलसीपुरमै उपचार भइरहेको छ भने स्थानीय १७ वर्षीया तारा सारु उपचारपछि डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।
बबई–१ भागोदुलास्थित गंगटे भन्ने स्थानबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक भई दुर्घटनामा परेको थियो। जिप अन्दाजी ३५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।