धनगढीमा नयाँ वर्ष (२०८१ बैशाख १ गते) हाफ म्याराथन प्रतियोगिता–२०२४ हुने भएको छ । धनगढी जेसीजको आयोजनामा “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ १०औँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ तर २०७७ सालमा कोरोनाका कारण प्रतियोगिताको आयोजना गर्न नसकेको आयोजक धनगढी जेसीजले जनाएको छ ।
म्याराथन चारवटा विधामा गराइने छ । २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने रहेको छ ।
यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाकल विधामा पनि म्याथान हुने र सम्मान सहित पुरस्कार दिईने आयोजकले जनाएको छ ।
२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा ४ हजार बढी प्रतियोगीहरुले सहभागिता जनाउने अनुमान गरेको अयोजकले बताएको छ । जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको जनाएको छ ।