धनगढी, २९ चैत्र । शिक्षा यूवा तथा खेलकुद महाशाखा धनगढीले प्रकाशित गरेकाे आधारभूत तह कक्षा ८ काे नतिजा गतवर्षकाे तुलनामा सुधार भएकाे छ । गत वर्षको परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी सफल भएका छन् ।
गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यस वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य आएको छैन । शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।
यस वर्ष धनगढी-१६, घसिटामा रहेकाे श्री बेहडाबाबा माध्यमिक विद्यालयले सामुदायिक विद्यालय तर्फ धनगढी नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । जम्मा ७६ जना विद्यार्थीले परीक्षा दिएकाेमा ५१ जना अर्थात ६७.१% विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यार्थीलाई दुई महिना आवासीय सुविधा सहित अध्यापन गराएकाले सफलता प्राप्त भएकाे विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले बताउनु भयो ।
त्यस्तै धनगढीकाे त्रिभुवन मा.वि.का १३५ जना विद्यार्थी मध्ये ८१ जना, ६०%, विद्यार्थी उत्तीर्ण भएका छन् भने सिद्धनाथ मा. वि का ७८ जना विद्यार्थी मध्ये ४६ जना विद्यार्थी ५८.९७% उत्तीर्ण भई तेस्राे स्थानमा रहेको छ ।
धनगढी उपमहानगर पालिकामा समग्रमा ५२% विद्यार्थी उतिर्ण भएका छन् जसमध्ये सामुदायिक विद्यालयमा ३०.९% विद्यार्थी उत्तीर्ण भएका छन् । ४२ ओटा सामुदायिक विद्यालयका कुल ३५२४ विद्यार्थी मध्ये १०९० जना कक्षा ९ अध्ययन गर्न याेग्य ग्रेड प्राप्त गरेका छन् ।