काठमाडौँ, १० बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा पञ्जाबलाई गुजरातले ३ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १४३ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनायो ।
गुजरातका कप्तान शुभमन गिल ३५, साई सुदर्शन ३१, ऋद्धिमान साह १३ र अजमातुल्लाह उमरजाई १३ रनमा आउट हुँदा राहुल तेवाटिया ३६ रनमा अविजित रहे।
पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए । लियाम लिभिङस्टोनको नाममा २ विकेट रहँदा अर्शदीप सिंह र सैम कुरनले १/१ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनायो ।
पञ्जाबका प्रभसिमरन सिंह ३५, हरप्रित बरोडा २९, सैम कुरन २०, हरप्रीत सिंह १४ र जितेश शर्मा १३ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहेन ।
गुजरातका साई किशोरले सर्वाधिक ४ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २/२ विकेट लिँदा राशिद खानको नाममा १ विकेट रह्यो ।
जितसँगै सातौँ स्थानमा रहेको गुजरातले ८ खेलबाट ८ अंक जोडेको छ । समान खेल खेल्दै नवौँ स्थानमा रहेको पञ्जाबको ४ अंक रहेको छ ।