धनगढी, २३ भदौ । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा मनाइने हुनाले यस पर्वलाई ‘अटवारी’ भनिएको हो ।
थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अटवारी पर्व एकता, विजय तथा भातृत्व प्रेमको साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरिन्छ । यस पर्वमा दाजुभाइ दिदीबहिनीका लागि व्रत बस्ने गर्दछन । तसर्थ दाजुभाइद्वारा दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसरका रुपमा समेत अटवारीलाई लिइन्छ ।
अटवारीको अघिल्लो दिन शनिबार राति भिन्सर्या (दर भात) खाने चलन समेत रहेको छ । आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने सोमबारका दिन बिजोडी थरिथरिका तरकारीलगायत अन्य थप खानेकुरा पकाउने गरिन्छ ।
व्रत सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ (कोशेली) दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर पुर्याउन जाने चलन रहेको छ ।
अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको पाइन्छ । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ ।
महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवाहरु बताउँछन् ।