धनगढी, १ माघ । धनगढी उपमहानगरपालिका-१८ को न्यु पृथ्वी युवा क्लब, फूलबारीले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आज (मंगलबार) फूलबारी, डिपोबजारको एनएस स्टेडियममा दीप प्रज्वलन गरी आफ्नो खेलाडी संगम पौडेलको सम्झनामा सातौं दिनमा सो कार्यक्रम गरेको हो ।
क्लबका उत्कृष्ट गोलरक्षक रहेका पौडेलको, पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर गत पुस २४ गते मृत्यु भएको थियो । पौडेल फूलबारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख यम बहादुर (दिपक) पौडेलका एक्ला छोरा हुन् ।
श्रद्धाञ्जली कार्यक्रममा क्लबका सचिब सिताराम चौधरीले क्लबमा पौडेलको अभाव सधैँभरी खड्किरहने बताए । त्यस्तै क्लबका अध्यक्ष सुरेशप्रताप सेनले कार्यक्रममा बोल्दै भने “पौडेल एक उदयमान खेलाडी थिए । उनको अथक मेहनतले क्लबले धेरैवटा खेल जितेको छ । त्यसैले पौडेललाई क्लबले मात्र नभई देशले नै एक प्रतिभावान खेलाडी गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ।
“सङ्गम एक अनुशासित, मेहेनती र क्षमतावान खेलाडी थिए ! उनले पोस्ट सम्हाल्दा हामीलाई छुट्टै भरोसा हुन्थ्यो । उनी जस्तो खेलाडी साथी गुमाउँदा हामी अत्यन्तै दुखित छौँ” डिफेन्स खेलाडी विवश सुनारले भने ।
कार्यक्रममा क्लबका खेलाडी, समाजका बुद्धिजीवी लगायत सयौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
पौडेल पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौर, पोखरामा अध्ययनरत थिए । उनी धनगढी उपमहानगरपालिका-१८ का स्थायी वासिन्दा हुन ।
फोटोहरु