कैलालीबाट करणी, ज्यान मार्ने उद्योग, कुटपिट मुद्‍दाका १७ भारतीय कैदी फरार

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ४ असोज । जेन–जी पुस्ताको आन्दोलनका क्रममा जिल्ला कारागार कैलालीको प्रवेशद्वार र ढोकाहरु फोडिए।

जिल्ला कारागारबाट ६ सय ६० कैदीहरू आन्दोलनकै क्रममा फरार भए। बाँकी रहेका सात जना पनि भदौ २४ गते राति बाहिर निस्किए। जिल्ला कारागार, कैलालीको सुरक्षामा रहेको नेपाल प्रहरी भदौ २४ गते राति ११ बजे पछिहटेपछि बाँकी रहेका सात जना पनि भागेका थिए। जिल्ला कारागार, कैलालीका प्रमुख जेलर चिरञ्जीवी सापकोटाका अनुसार राति फेरि एक समूह कारागारमा प्रवेश गरेपछि प्रहरी भागेको हो। प्रहरीसँगै कारागारमा बाँकी रहेका सात जना कैदीहरू पनि भागेका थिए। उनले भने, ‘२ सय ७१ जना आएका छन्। ६ सय ६० जना भागेका हुन्। फेरि सात जना भागेका थिए।’

जिल्ला कारागार, कैलालीबाट भागेका छ सय ६० जनामा १८ जना भारतीय तथा विदेशी नागरिकहरू रहेका थिए। उनीहरूमा एक जना मात्र सम्पर्कमा आएका छन्। बाँकी १७ जना अझै सम्पर्कमा आएका छैनन्। उनीहरू लागुऔषध, ज्यानमार्ने उद्योग, जबरजस्ती करणी, वन्यजन्तु ओसार पसार, झैझगडा लगायतका मुद्दामा जिल्ला कारागारमा कैद काटिरहेका थिए। नेपाली कैदी तथा थुनुवाहरू सम्पर्कमा आएका भएपनि भारतीय कैदीहरू भने एक जना मात्र सम्पर्कमा आएका छन्। बाँकी १७ जना सम्पर्कमा नआएका जिल्ला कारागार, कैलालीले बताएको छ। उनले भने, ‘१८ जना विदेशी हुन्। एक जना आएको छ। १७ जना आएका छैनन। लागुऔषधीका ८/९, झैझगडा, ज्यानमार्ने उद्योग, करणी यस्तै मुद्दाका भारतीयहरू थिए।’

जिल्ला कारागार, कैलालीबाट भागेका छ सय ६० जनामा दुई सय ७१ जना फर्किएका छन्। केही कैदी तथा थुनुवाहरूलाई प्रहरीले पक्राउ गरेरसमेत कारागारमा ल्याएको छ। केही कैदीहरू आफै कारागारमा आएका हुन्। कैलाली कारागारले उनीहरुलाईँ फिर्ता हुन अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले पनि कैदीहरूको खोजीकार्य तीव्र पारेको छ। तर, नेपाली कैदीहरू सम्पर्कमा आएपनि भारतीय भने सम्पर्क विहीन रहेका छन्।

वि.स. १९९७ सालमा निर्माण गरिएको कैलाली कारागारको अवस्था जीर्ण छ। विभिन्न अपराध गरेका कैदीबन्दी फरार भएपछि सर्वसाधारण त्रसित छन्।
dineshkhabarबाट

प्रतिक्रिया

FaceBook Comment Plugins